सुदूरपश्चिममा शसस्त्रको विपद् व्यवस्थापन बेस थप

यसअघि सुदूरपश्चिममा सशस्त्र प्रहरीका दुईटा मात्र विपद् व्यवस्थापन बेस थिए । डडेल्धुरा सदरमुकाम र कैलालीको डुडेझारीमा विपद् व्यवस्थापन बेस सञ्चालनमा थिए ।

असार ६, २०८३

अर्जुन शाह

Additional armed disaster management base in the Far West

धनगढी — विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले सशस्त्र प्रहरी बलले सुदूरपश्चिममा एउटा बेस थप गरेको छ । डोटीको जोरायल गाउँपालिका २ बुडरमा उक्त बेस स्थापना गरिएको हो । 

यससँगै सुदूरपश्चिममा तीन वटा विपद् व्यवस्थापन बेस भएका छन् । यसअघि सुदूरपश्चिममा सशस्त्र प्रहरीका दुईटा मात्र विपद् व्यवस्थापन बेस थिए । डडेल्धुरा सदरमुकाम र कैलालीको डुडेझारीमा विपद् व्यवस्थापन बेस सञ्चालनमा थिए ।  

बुडरमा स्थापना गरिएको बेसको बिहीबार एक कार्यक्रमकाबीच सशस्त्र प्रहरी बलका ७ नम्बर बैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिग विजय सुवेदीले गरेका छन् । 

बाहिनीपति सुवेदीले विपद्को समयमा प्रत्येक पल महत्त्वपूर्ण हुने बताउँदै बुडरमा स्थापना गरिएको विपद् व्यवस्थापन बेसले तयारी, उद्धार तथा राहत कार्यलाई थप तीव्र, प्रभावकारी र परिणाममुखी बनाउने विश्वास व्यक्त गरे । उनका अनुसार बैद्यनाथ बाहिनी मुख्यालय कैलालीमा तालिम प्राप्त गोताखोर तथा तालिम प्राप्त जनशक्ति परिचालन गरिएको छ ।

उनले विपद् व्यवस्थापन युनिटहरुलाई साधन स्रोतयुक्त बनाउनुपर्ने आवश्यकता रहेको बताए । विपद् व्यवस्थापन स्थानीय सरकार र प्रदेश सरकारको साझा क्षेत्राधिकार भएकोले सबै निकायको सहयोग र समन्वयमा विपद् व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन सकिने उनको भनाइ छ । त्यस क्रममा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले स्रोत साधनको अभाव हुन नदिने बताए ।

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully