शुक्लाफाँटा निकुञ्जभित्र रहेको शिकारी तालमा २० हजार चरा गणना हुँदा दुर्लभ र विशेष प्रजाति समेत देखिएका छन्।
What you should know
कञ्चनपुर — तीन दशकअघि कञ्चनपुरको बेलौरी नगरपालिका क्षेत्रमा देखिएको सेतो पुच्छ्रे हुटिट्याँउ त्यसपछि सन् २०१६ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको शिकारी तालमा देखियो ।
यो नेपालमा निकै कम देखिने फिरन्ते चरा हो । शिकारी तालमा त्यतिबेला यो प्रजातिका ८ वटा चरा देखिएका थिए। नेपालमा निकै कम देखिने फिरन्तेख सानो सावारी चरा पनि यो तालमा भेटिएको थियो ।
विश्वमै दुर्लभ मानिने काँसे घाँस चरी र नर्कट भ्याकुरलगायतका चरा पनि यहाँ देखिन्छ । नेपालमा शुक्लाफाँटामा मात्रै आक्कलझुक्कल देखिने नर्कट ढ्याप्सी चरा पनि यही भेटिन्छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवेशद्वार मझगाँउबाट झण्डै ३० किलोमिटर दक्षिणतर्फ रहेको यो निकुञ्जकै प्रमुख सिमसार क्षेत्र हो । यो ताल चराका लागि स्वर्ग नै मानिन्छ । ‘यो पश्चिम नेपालको प्रमुख सिमसार क्षेत्र हो,’ नेपाल पन्छी संरक्षण संघका चराविद् हिरुलाल डगौंराले भने, ‘एकै ठाउँमा ठूलो संख्यामा चरा देख्न सकिन्छ ।’
शिकारी तालमा गएको हिउँदमा २० हजार भन्दा बढी चरा गणना गरिएको छ । गत वर्ष पनि २२ हजार चरा गणना गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रमका प्राविधिक समेत रहेका चराविद् देवराज जोशीले बताए । सन् २०१६ मा ३० वर्षपछि सेतो पुच्छ्रे हुटिट्याँउ शिकारी तालमा उनले नै देखेका थिए । ‘कञ्चनपुरमा चराको प्रमुख बासस्थानका रुपमा शिकारी ताल नै पर्छ,’ चराविद् जोशीले भने, ‘सबैभन्दा बढी चरा यही भेटिन्छन् ।’ उनका अनुसार गणनाका क्रममा भेटिनेमध्ये ८० प्रतिशत बढी चरा यही भेटिन्छन् ।
तालमा १६ प्रजातिका हाँस र ५० प्रजातिका अन्य चरा भेटिएका छन् । जसमध्ये कतिपय विश्वमै दुर्लभ र कतिपय यहाँ मात्रै भेटिने चरा समेत रहेका छन् । तालनजिकै घाँसे मैदान र घना जंगलका कारण पनि यहाँ चराको आकर्षण बढी भएको हो ।
शिकारी तालमा चराको गणना सुरु भएको ८ वर्ष भयो । आउजाउ गर्न बाटोको असुविधा भएका कारण सहजै जान सकिँदैन । निकुञ्जको प्रमुख आकर्षण शुक्लाफाँटा घाँसे मैदानबाट पनि करिब चार/पाँच किलोमिटर दक्षिणतर्फ यो ताल रहेको छ । ताल वरिपरी कमल फुलेको छ भने कतै नर्कटले भेरिएको छ । जलकुम्भीले ताल क्षेत्र साँघुरिँदै गएको छ ।
शिकारी ताल माछाका लागि पनि राम्रो बासस्थान मानिन्छ । तर यहाँ कति प्रजातिका माछा पाइन्छन् भन्ने विषयमा भने हालसम्म अध्ययन भएको छैन । भारतको सीमा क्षेत्रनजिक भएकाले केही वर्षअघिसम्म यहाँ भारतीय नागरिक माछा र चराको शिकार गर्न आउने गरेका थिए । गतवर्ष उक्त क्षेत्रमा सेनाको पोष्ट राखेपछि चोरी शिकार रोकिएको छ ।
शिकारी ताललाई रामसार सूचीमा सूचीकृत गर्नका लागि अध्ययन पनि भइरहेको छ । राष्ट्रिय निकुञ्ज वन्यजन्तु संरक्षण विभागले यसका लागि अध्ययन गरिरहेको छ । रामसार सूचीमा सूचीकृत भएमा यसको संरक्षणसँगै प्रचारप्रसारमा अझै व्यापकता आउने अपेक्षा गरिएको छ । ठूलो क्षेत्रफलमा फैलिएको ताल पछिल्लो समय नर्कट र जलकुम्भीका कारण पुरिँदै गएको छ । यसतर्फ पनि निकुञ्ज प्रशासनले समयमै ध्यान दिएर तालको संरक्षण गर्नुपर्ने संरक्षणकर्मीहरु बताउँछन् ।
