यो बजेट केही थान नेतालाई मोटाउने, मुख्यमन्त्री र मन्त्रीका आसेपासेलाई पोस्ने दस्तावेज बनेको छ। जनताका समस्या र आवश्यकताप्रति बजेटमा कहीँ कतै सम्बोधन गरिएको छैन : नेता खगराज भट्ट
What you should know
कैलाली — सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३र०८४ को बजेटलाई लिएर नेकपा संसदीय दलले असन्तुष्टि जनाएको छ । धनगढीमा पत्रकार सम्मेलन गर्दै संसदीय दलका नेता खगराज भट्टले वर्तमान स्वरूपको बजेट कुनै पनि हालतमा पारित हुन नदिने चेतावनी दिएका छन् ।
प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमाथि टिप्पणी गर्दै भट्टले यो विकासमुखी नभई पहुँचवालाको स्वार्थ सिद्ध गर्ने साधन भएको जिकिर गरे । उनले बजेट निर्माणको मर्मविपरीत अपारदर्शी ढङ्गले आयोजनाहरू छनोट गरिएकोमा कडा आपत्ति जनाएका छन् ।
बजेटले आम नागरिकको जनजीवनसँग सम्बन्ध राख्न नसकेको भन्दै भट्टले भने, 'यो बजेट केही थान नेतालाई मोटाउने, मुख्यमन्त्री र मन्त्रीका आसेपासेलाई पोस्ने दस्तावेज बनेको छ। जनताका समस्या र आवश्यकताप्रति बजेटमा कहीँ कतै सम्बोधन गरिएको छैन।'
बजेट निर्माणको प्रक्रियामाथि प्रश्न उठाउँदै उनले योजनाहरू सेटिङका आधारमा छनोट गरिएको बताए । 'यो बजेट विधि र प्रक्रियाभन्दा पनि सुटकेस र होटलका कोठाबाट सेटिङ मिलाएर तयार गरिएको हो।' करिब ३७ अर्ब ६० करोडको यो बजेटमा सामान्य संशोधनले मात्रै समस्या समाधान नहुने उनको ठहर छ।
बजेटको संरचना नै त्रुटिपूर्ण रहेको बताउँदै उनले भने, 'केही सानो छेद भए टालटुल गर्न सकिन्थ्यो। यो त टाल्न नसकिने गरी परेको ठूलो भ्वाङ हो। त्यसैले यो बजेटलाई पुनर्लेखन गर्नुपर्छ।' सदीय दलका नेता भट्टले बजेटप्रति प्रतिपक्षी दल मात्र नभएर सत्तासाझेदार दलभित्रै पनि विद्रोह रहेको खुलाए।
यद्यपि, केन्द्रमा नेपाली कांग्रेस र एमालेबीच भइरहेका राजनीतिक संवादहरूले प्रदेश सरकारको भविष्य के हुने भन्नेबारे अहिले नै ठोस निर्णय नभएको उनले बताए। राजनीतिक नैतिकताको कुरा उठाउँदै उनले आफूहरू सत्ताका लागि मात्र मरिहत्ते गर्ने पक्षमा नरहेको बताए।
