जिल्ला अदालत दार्चुलाका न्यायाधीश भुवन गिरीको एकल इजलासले शुक्रबार आठै जनालाई कारागार चलान गर्न आदेश दिएको हो ।
दार्चुला — ब्यास गाउँपालिका–४ सुन्सेरास्थित सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेव सिंह धामीको मृत्यु प्रकरणमा पक्राउ परेका ८ जनालाई नै पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
जिल्ला अदालत दार्चुलाका न्यायाधीश भुवन गिरीको एकल इजलासले शुक्रबार आठै जनालाई कारागार चलान गर्न आदेश दिएको हो । न्यायाधीश गिरीका अनुसार तत्कालका लागि ८ जनालाई नै पुर्पक्षका लागि कारागार चलान गरिएको र अन्तिम फैसला भने बाँकी प्रमाण र साक्षी बुझ्ने कार्य सकिएपछि हुनेछ ।
शुक्रबार कारागार चलान हुनेमा महाकाली नगरपालिका–१ का ३२ वर्षीय विक्रम सिंह कुवर, महाकाली–२ का ५२ वर्षीय दलजित भट्ट, महाकाली–५ का ४२ वर्षीय खिमानन्द भट्ट, ब्यास गाउँपालिका–४ का ५७ वर्षीय परमानन्द भट्ट, ३१ वर्षीय पदमराज भट्ट, ४३ वर्षीय नरेन्द्रदत्त भट्ट, ५६ वर्षीय हरिदत्त भट्ट र बैतडीको पाटन नगरपालिका–४ का ४० वर्षीय पुष्करराज भट्ट रहेका छन् ।
प्रधानाध्यापक धामीले गत जेठ ४ गते सामाजिक सञ्जालमा लामो सुसाइड नोट लेख्दै विद्यालयमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्दै पीडितपक्ष तथा स्थानीय सर्वसाधारण तीन दिनदेखि निरन्तर धर्नामा बसेका छन् । आत्मघाती कदम पछाडिका दोषीहरूलाई कानुनी दायरामा ल्याउन माग गर्दै आन्दोलन गरेको आफन्तहरुले बताएका छन् ।
