दार्चुलाको मार्मा गाउँपालिका–४ मा आफ्नै घरमा श्रीमानको हत्या भएको आशंकामा श्रीमतीलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।
दार्चुला — दार्चुलाको मार्मा गाउँपालिका–४ मा श्रीमान्को हत्या आशंकामा श्रीमतीलाई नियन्त्रणमा लिएको छ । मार्मा–४ का स्थानीय पूर्णसिह धामीको जेठ ३१ गते आफ्नै घरमा हत्या भएको आंशकामा उनकी श्रीमतीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार घटनाको दुई दिनपछि दाहसंस्कार गरिएको अवस्थामा मात्रै प्रहरीलाई जानकारी पुगेकाले अनुसन्धान जटिल बनेको छ ।
पूर्णसिंहको आफ्नै घरभित्र हत्या भएको अवस्थामा शव फेला परेको प्रारम्भिक जानकारीमा आएको दार्चुलाका प्रहरी डिएसपी गौरव महतले बताए । उनले घटनाबारे प्रहरीलाई दुई दिनपछि मात्रै मंगलबार सूचना दिइएको थियो । स्थानीयले शवलाई असार १ गते नै दाहसंस्कार गरिसकेका छन् ।
घटनास्थलबाट प्रमाण संकलन गर्न नपाउँदै शव जलाइसकिएको अवस्थामा जानकारी प्राप्त भएकाले घटनाको अनुसन्धान थप संवेदनशील बनेको प्रहरीले जनाएको छ । घटनाको कारण भने हालसम्म खुल्न सकेको छैन । प्रहरीले अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ । मृतक धामी करिब १ महिनाअघि मात्र भारतको बेंग्लोरबाट घर फर्केका थिए । उनी झण्डै १० वर्षदेखि भारतमा रोजगारी गर्दै आएका थिए ।
