भीमदत्त–९ का खल्ला, टुँडीखेल र मुसेट्टीका चार सयभन्दा बढी परिवार बर्खामा बाटो, विद्युत्, औषधि र शिक्षाबाट पूर्णरूपमा बञ्चित हुने चिन्तामा छन्।
What you should know
कञ्चनपुर — भीमदत्त नगरपालिका–९ मुसेट्टीका धनबहादुर खड्कालाई बर्खा नजिकिँदै गर्दा तनाव बढ्दै गएको छ । दैनिक उपभोग्य सामग्रीदेखि गाउँमा कोही सामान्य बिरामी परे पनि उपचार कसरी गर्ने भन्ने उनलाई बढी चिन्ता छ ।
ब्रम्हृदेवदेखि खल्लासम्मको बाटो गत हिउँददेखि नै अवरुद्ध छ ।
महाकाली करिडोर अन्तरगत ब्रम्हदेवदेखि खल्लासम्म यसै वर्ष ट्रयाक खोलिएको हो । उक्त ट्रयाक खोल्ने क्रममा पुरानो बाटो पनि बिग्रेको छ । नयाँ खोलिएको ट्रयाकमा ठाउँठाउँमा पहिरो र खोलानालाका कारण हिँडडुल गर्न सकिने समेत अवस्था छैन ।
खल्ला र मुसेट्टीवासीले हिउँददेखि नै महाकाली किनारको बाटो प्रयोग गर्दै आएका थिए । अब बर्खायाम सुरु भएसँगै महाकालीमा पानीको सतह बढ्न थालेको छ । एक पटक महाकालीमा बाढी आएमा उक्त बाटो पनि अवरुद्ध हुन्छ । ‘त्यसपछि त हामी नाकाबन्दीमा परेजस्तै हुन्छौं,’ खड्काले भने, ‘तलबाट महाकालीले हिँडडुल गर्न सकिन्न, माथि पहिरोको जोपिखम हुन्छ ।’
उनका अनुसार हालै खोलिएको ट्रयाकमा अहिले हिँडडुल गर्न सकिने अवस्था समेत छैन । सवारी साधन चलाउन त झनै गाह्रो छ । ‘बर्खा लागेपछि बाटोघाटो मात्रै होइन विद्युत सेवा समेत अवरुद्ध हुनेछ,’ मुसेट्टीका अर्का स्थानीय हरिष साउँदले भने, ‘नयाँ खोलिएको ट्रयाकमा डबल कटिङ नगरेसम्म खल्ला मुसेट्टीवासीका लागि आउजाउ ठप्प हुने अवस्था छ ।’ उनका अनुसार नयाँ खोलिएको ट्रयाकमा अहिले पनि यात्रा गर्न सकिने अवस्था छैन ।
उक्त क्षेत्रमा ट्रयाक खोल्ने क्रममा विद्युतका पोलहरु महाकाली नदीको भंगालाको बीचमा गाडिएका छन् । ती पोलहरु अहिले पनि नदीमै छन् । महाकालीमा बाढी आएमा पोल बगाएर लैजाने जोखिम छ । त्यसपछि विद्युत, टेलिफोन र बाटोघाटो सबै क्षेत्रबाट बञ्चित हुनुपर्ने स्थानीयको गुनासो छ ।
‘सामान्य वर्षाले पनि खल्ला मुसेट्टीका बासिन्दा आउजाउ गर्न सकिरहेका छैनन्,’ भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष गगनसिंह कार्कीले भने, ‘अहिले महाकालीको बगरमा बाटो छ, महाकालीमा बाढी आएपछि कहाँबाट हिँडडुल गर्ने ?’ उनले यस विषयमा स्थानीय प्रशासनदेखि प्रदेश र प्रतिनिधिसभाको सांसदहरुसँग समेत आवश्यक पहल गरिदिन आग्रह गरेको बताए । तर बर्खा लाग्ने बेलासम्म पनि कुनै पहल नभएको उनले बताए ।
‘महाकाली करिडोरमा ट्रयाक खोलिएकोमा डबल कटिङ र खोलानालामा हृयुमपाइप राखेर काम चलाउ बनाउन सकिन्छ,’ अध्यक्ष कार्कीले भने, ‘अब त्यो पनि सम्भव छैन ।’ उनले तत्काल विद्युत लाइन सार्ने विषयमा पनि सम्बन्धित निकायले चासो नराखेको बताए ।
भीमदत्त–९ मा पर्ने उक्त क्षेत्रमा ३ वटा बस्ती छन् । खल्ला, टुँडीखेल र मुसेट्टीमा करिब ४ सय बढी परिवारको बसोबास छ । महाकाली किनारमा रहेको ब्रम्हृदेव बजारबाट करिब ५ किलोमिटर उत्तरतिर चुरे फेदीमा रहेको उक्त वस्तीमा अधिकांश सुदूरपश्चिम पहाडबाट बसाइ सरेर आएकाहरुको बसोबास छ ।
यहाँका बासिन्दाले दैनिक उपभोग्य सामाग्री किनमेल गर्ने मुख्य बजार ब्रम्हृदेव र महाकालीपारिको टनकपुर हो । अब सडक अवरुद्ध भएपछि दैनिक उपभोग्य सामग्रीदेखि औषधि उपचारलगायतमा समेत समस्या हुने भएको छ ।
उक्त क्षेत्रमा आधारभूत तहसम्मको मात्रै विद्यालय छ । यहाँका छात्रछात्राहरुले मावि तहको अध्ययनका लागि ब्रम्हृदेव नै पुग्नुपर्छ । बर्खायाममा उनीहरुको पठनपाठन समेत अवरुद्ध हुने देखिन्छ ।
