टेम्पो खसालिदिएको घटनाको छानबिन गर्न सुदूरपश्चिम प्रदेश सरकारले बनायो समिति

प्रदेश सचिव दीर्घनारायण कोइरालाले पत्रकार सम्मेलन गर्दै समितिलाई घटनाको सत्य तथ्य छानबिन गरी आगामी सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको बताए।

असार १, २०८३

रञ्जना बिसी

Sudurpaschim provincial government forms committee to investigate tempo overturning incident

What you should know

कैलाली — कैलालीको गोदावरी नगरपालिका–४ स्थित चुरे क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा एउटा टेम्पो भीरबाट खसालिदिएको विषयमा सुदूरपश्चिम प्रदेश सरकारले चासो देखाएको छ। सामाजिक सञ्जाल र सञ्चारमाध्यममा वन कर्मचारीको कार्यशैलीप्रति तीव्र आलोचना भएपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यस घटनाको वास्तविकता पत्ता लगाउन पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो।

सोमबार मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै प्रदेश वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा उक्त टोली गठन गरेको हो। मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले  पत्रकार सम्मेलन गर्दै समितिलाई घटनाको सत्य तथ्य छानबिन गरी आगामी सात दिनभित्र  प्रतिवेदन बुझाउन निर्देशन दिएको बताए।

गत जेठ २९ गते गोदावरी सामुदायिक वन क्षेत्रमा डिभिजन वन कार्यालय कैलालीको टोलीले अतिक्रमण खाली गराउने क्रममा  धनादेवी धामीको  टेम्पोलाई भीरबाट खसालेको दृश्य सार्वजनिक भएको थियो। उक्त भिडियो र तस्बिरहरू भाइरल बनेपछि वन प्रशासनको निकै विरोध भएको थियो। सोही घटनाको पृष्ठभूमि र दोषीको पहिचान गर्न सरकारले प्रशासन, प्राविधिक र कानुनी विज्ञहरूलाई समितिमा समावेश गरेको छ।

छानबिन टोलीमा जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ डिभिजनल वन अधिकृत जनक पाध्या, यातायात व्यवस्था कार्यालयका मेकानिकल इन्जिनियर धोजराज जोशी र मन्त्रालयका कानुन अधिकृत विजयराज ओझा सदस्य रहेका छन्। सचिव कोइरालाका अनुसार यो टोलीले घटनास्थलको निरीक्षण, आवश्यक प्रमाणहरूको सङ्कलन र सम्बन्धित पक्षसँगको बयानका आधारमा वस्तुगत निष्कर्ष निकाल्नेछ।

यसअघि डिभिजन वन कार्यालयका प्रमुख रामविचारी ठाकुरले पत्रकारहरूसँग कुरा गर्दै टेम्पो जानीजानी नखसालिएको दाबी गरेका थिए। तर, दाबी  शङ्कास्पद देखिएपछि हाल उनीसहित संलग्न अन्य कर्मचारीहरूलाई जिल्ला प्रहरी कार्यालय कैलालीले आफ्नो निगरानीमा राखेर सोधपुछ गरिरहेको छ। 

रञ्जना

Link copied successfully