सुदूरपश्चिमले आकार बढाएर बजेट ल्याउँदै

चालु आर्थिक वर्षमा सुदूरपश्चिमले ३१ अर्ब ६२ करोड, ९८ लाखको बजेट ल्याएको थियो ।

जेष्ठ ३१, २०८३

अर्जुन शाह

Sudurpaschim is increasing its budget size.

What you should know

धनगढी — सुदूरपश्चिम प्रदेश सरकार हालसम्मकै सबैभन्दा ठूलो आकारको बजेट ल्याउने तयारीमा छ । सोमबार बजेट प्रस्तुत गर्नुपर्ने भए पनि प्रदेश सरकारले आइतबार मध्याह्नसम्म आन्तरिक छलफलमै छ ।

अन्तिम समयमा मन्त्री फेरबदल र बजेटको आकार बढाउने दबाबका कारण बजेट निर्माणको तयारीमा ढिलाइ भएको हो । ‘आवश्यक छलफल र बजेट निर्माण तयारी एकसाथ चलिरहेको छ,’ बजेटको स्रोतअनुमान समितिका सदस्य समेत रहेका प्रदेश नीति तथा योजना आयोगका सदस्य नृपबहादुर सुनारले भने, ‘यसपालीको बजेटको आकार अलि बढेरै आउँछ होला ।’ चालु आर्थिक वर्षमा सुदूरपश्चिमले ३१ अर्ब ६२ करोड, ९८ लाखको बजेट ल्याएको थियो । 

आकार वृद्धि गर्न सरकारले चालु आर्थिक वर्षको बजेटमा हुने बचतलाई मुख्य आधार बनाएको आर्थिक मामिला मन्त्रालयका एक अधिकृतले बताए । चालु आर्थिक वर्षको बजेटबाट कम्तिमा ८ अर्ब बचत हुने अनुमान रहेको प्रदेश नीति तथा योजना आयोगका सदस्य सुनारले बताए । बजेटको आकार वृद्धिको अन्य आधारमा आन्तरिक राजश्वमा चालु आर्थिक वर्षभन्दा वृद्धि हुने बजेट निर्माणको तयारीमा रहेका अधिकारीहरूको भनाइ छ । वन स्रोतको कच्चा पदार्थ, गिट्टी बालुबाट पनि राजश्वलगायत थप हुने आकलन गरिएको ती अधिकृतले बताए । चालु आर्थिक वर्षमा सरकारले आन्तरिक राजश्वको कूल अंक एक अर्ब ६५ करोड हुने अनुमान गरेको थियो । सोमबार अपराह्न प्रदेश सभामा बजेट पेस गर्ने समय निर्धारण गरिएको छ ।

अर्कोतिर सुदूरपश्चिममा ५ दिनअघि मन्त्रिपरिषद् हेरफेर भएको थियो । त्यसक्रममा आर्थिक मामिला मन्त्रीसमेत फेरिएका थिए । यसअघि मन्त्री रहेका बहादुरसिंह थापाले गरेको बजेट तयारीलाई नवनियुक्त मन्त्री विक्रमसिंह धामीले पुनर्लेखन सुरु गरेपछि ढिलाई भएको बजेट निर्माणमा संलग्न आर्थिक मन्त्रालयका अधिकृतहरुले बताएका छन् । ‘पुराना मन्त्रीले तयारी गरेका आयोजना र बजेट नयाँ मन्त्रीले पुरै हेरफेर गर्नु भएको छ,’ एक अधिकृतले भने ‘मन्त्री फेरिएका अन्य मन्त्रालयमा पनि त्यही अवस्था भएकाले ढिलाइ भइरहेको छ । सोमबार दिउँसोसम्म तयारी पुरा होला ।’ 

आर्थिक मामिलासहित कांग्रेसले नेतृत्व गरेर सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा पनि मन्त्री फेरबदल भएका थिए । सामाजिक विकास मन्त्री रहेका मेघराज खड्काको ठाउँमा कांग्रेसकै बेलहादुर राना मगर नियुक्त भएका थिए भने उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रहेका शिवराज भट्टको स्थानमा मानबहादुर रावल नियुक्त भएका थिए । 

अर्कोतिर सत्तारुढ दलकै सांसदहरू, पार्टी पंक्तिबाट बजेट आयोजना मागको चर्को दबाबका कारण पनि बजेटको आकार बढाउने तयारीमा सरकार पुगेको एक सांसदले बताए । सांसदहरूलाई बेग्लै बजेट दिन सरकारले उनीहरूबाट बजेट आयोजना संकलन गरिसकेको छ । सरकारले सांसदहरूका लागि बजेट बढाएर कूल ३ अर्ब २९ करोड बजेट भागबण्डा यसअघि नै गरिसकेको छ । मुख्यमन्त्री कार्यालयले सांसदहरूबाट बजेट अंक र आयोजनाको सूची संकलन गरिसकेको छ ।  

मन्त्रालयहरूमा बजेट निर्माणको चटारोबीच आर्थिक मामिला र भौतिक पूर्वाधार विकास मन्त्रालयले मन्त्रालयमा भेटघाट बन्द गरिएको जनाएका छन् । मन्त्रालयको मूल गेटमै ‘माननीय मन्त्रीज्यूको कार्यव्यस्तताका कारण बिहीबारदेखि भेटघाट बन्द गरिएको जानकारी गराइन्छ’ ननि सूचना टाँस गरिएको छ । 

योजना माग्नका लागि मन्त्रालयमा भीडभाड बढ्न थालेपछि यस्तो निर्णय गरिएको आर्थिक मामिला मन्त्रालयका उपसचिव धनबहादुर रोकायाले बताए । सुदूरपश्चिममा विगतदेखि नै योजना खरिदबिक्री तथा पहुँचका आधारमा योजना वितरण हुने आरोप लाग्दै आएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले आगामी बजेटमा २५ लाखभन्दा कम बजेटका आयोजना नराख्ने भन्दै आएका छन् । 

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully