छोरी गुमाएका मल्ल गाउँगाउँमा मानसिक स्वास्थ्य सचेतना फैलाउँदै

छोरीको निधनपछि पूर्णबहादुर मल्लले बझाङका विद्यालयमा शिक्षक, विद्यार्थी तथा अभिभावकमाझ मानसिक स्वास्थ्य सचेतना फैलाउन अभियान सुरु गरेका छन्।

जेष्ठ ३०, २०८३

वसन्तप्रताप सिंह

Malla, who lost his daughter, is spreading mental health awareness in the villages

What you should know

बझाङ — कहिलेकाँही मानिसको जीवनमा नसोचेका घटना घट्छन् । बझाङी भाषामा चोटिला गजल सुनाएर सबैलाई मनोरञ्जन दिने साहित्यकार पूर्णबहादुर मल्लको परिवारमा पनि दुई वर्षअघि त्यस्तै भयो । शिक्षक समेत रहेका मल्लकी एक मात्रै छोरीले परीक्षा बिग्रेको झोंकमा आफैलाई समाप्त गरिन् । त्यो घटनाले उनलाई विक्षिप्त मात्रै बनाएन जीवनको उद्देश्य नै बदलिदियो ।  

२०८१ चैत १२ गते एसईई चलिरहेको थियो । केदारस्यूँको गर्जेपानी माध्यमिक विद्यालयकी छात्रा आकांक्षा मल्ल बिहान बुवा पूर्णबहादुर (सोही विद्यालयका शिक्षक)सँग खुसी हुँदै स्कुल गएकी थिइन् । त्यो दिन विज्ञान विषयको परीक्षा थियो ।

विद्यालयबाट साथीहरूसँग फर्केकी आकांक्षा उनका बुवा पूर्णबहादुर घर पुग्दा भोलीपल्ट परीक्षा हुने सामाजिक विषयको नोट बनाइरहेकी थिइन् । ‘खाना पनि खाएकी थिइन् । भोलीको परीक्षाको तयारी गर्दैछ भन्ने लागेर हामीले डिस्टर्ब गरेनौं,’ त्यो दिनको घटना सम्झदै मल्लले भने, ‘केही कामले हामी बुढाबुढी २ बजेतिर घरबाट निस्कियौं । घरमा उ एक्लै थिई । साँझ घर फर्किदा घटना घटिसकेको रहेछ ।’

१६ वर्षीया आकांक्षा परिवारकी एक्ली छोरी थिइन् । उनको मृत्युको पीडाले मल्ल परिवार शोकमा डुब्यो । ‘हामी बाबुछोरी भन्दा पनि साथी जस्तो थियौं । सानो निर्णय लिँदा पनि मलाई जानकारी दिने छोरीले कसरी यस्तो गरी भन्ने कुराले मेरो मानसिकता नै खल्बल्लियो,’ मल्लले भने, ‘यो घटनाले म र उसको आमा दुवै जना विक्षिप्त भयौं । आफै सम्हालिन नसकेपछि एक आफन्तको सल्लाहमा काठमाडौं गएर मानसिक परामर्श गर्नुपर्यो ।’ 

उनले मानिसक परामर्श गर्दागर्दै छोरीले जीवन समाप्त गर्नुको कारण मानसिक स्वास्थ्यसँग जोडिएको रहेछ भन्ने बुझ्न पाए । ‘यत्रो वर्ष बालबालिका पढाए । जब आफ्नै घरमा घटना भयो तब मात्र मानसिक स्वास्थ्य बालबालिकाका लागि कति महत्त्वपूर्ण रहेछ भन्ने थाहा पाए । जुन मैले कहिल्यै ख्यालै गरेको थिएन,’ मल्ल भन्छन्, ‘काठमाडौंबाट बझाङ फर्केपछि हामीले आफूलाई त सम्हाल्यौं तर म जस्तो सचेत अभिभावकको अवस्था त यस्तो छ भने अरू मानिसको के होला ? भन्ने कुराले मलाई पिरोल्न थाल्यो ।’

आफ्नै छोरीको जस्तो व्यवहार देखाउने र उनको जस्तो लक्षण भएका थुप्रै बालबालिका विद्यालय, घरपरिवार र छरछिमेक देखेका मल्लले आफ्नो जसरी अरूले सन्तान गुमाउन नपरोस् भन्नका लागि केही गर्ने सोच बनाए । बझाङमा मानसिक स्वास्थ्य सम्बन्धी सचेतना कसरी फैलाउन सकिन्छ भनेर थुप्रै साथीभाइलाई सल्लाह मागे । ‘मेरो परिवारले गुमाएको मुटुको टुक्रा (छोरी) त फर्केर आउँदैन तर अरूको परिवारले यस्तो पिडा भोग्न नपरोस् भनेर मैले अभियान थाल्ने निर्णय गरें,’ मल्लले भने, ‘सुरुमा आफ्नै अनुभव,  परामर्श लिँदा पाएको ज्ञान र थप अध्ययन गरेर मैले पढाउने गर्जेपानी माध्यमिक विद्यालयका छात्रछात्रालाई मानसिक स्वास्थ्य सम्बन्धी चेतनामूलक कक्षाहरू चलाए । यसले बालबालिकाको व्यवहारमा निकै सुधार पनि आएको पाए ।’

यो अभियान अरु विद्यालयसम्म कसरी पुर्याउन सकिएला भन्ने सोचिरहेका बेला बझाङ घरभएका अमेरिकाको हावर्ड इनोभेसन ल्याब्स्को बायोमेडिकल कम्पनीमा वरिष्ठ वैज्ञानिकको रुपमा कार्यरत डा. विष्णु जोशी सम्पर्कमा आए ।

मल्लको सोचबाट प्रभावित जोशीकै समन्वयमा नेपालको मानसिक स्वास्थ्य क्षेत्रको विकासका लागि नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थका सहसंस्थापक समेत रहेका अमेरिकामा कार्यरत प्रतिष्ठित प्राध्यापक तथा मनोरोग विज्ञ डा. सञ्जय यादव  र नेपालीहरूले नै चलाएको शिक्षा क्षेत्रमा काम गर्ने विश्वव्यापी सञ्जाल एजुकेसन ग्लोबल सिनेटमा सिनेटरको रूपमा आबद्ध साराना श्रेष्ठ पराजुली पनि मल्लको अभियानमा साथ दिन जोडिए । उनीहरुकै सहयोगमा मल्लले विश्व विख्यात मनोचिकित्सकबाट मनोपरामर्श सम्बन्धी भर्चुअल तालिम लिन पाए । बालबालिका र किशोरकिशोरीमा हुने मानसिक स्वास्थ्य समस्या र यसबाट मुक्त हुने उपाय थाहा पाए पछि अहिले उनी जिल्लाका विद्यालयहरु चहार्दै सचेतना अभियानमा हिँडिरहेका छन् । 

विद्यालय बिदाको समय उपयोग गर्दै उनले अहिलेसम्म बझाङका ९ वटा विद्यालयमा गएर मानसिक स्वास्थ्य सम्बन्धी सचेतना कक्षा चलाइसकेका छन् । ७५ जना शिक्षक र ६४३ विद्यार्थीले अहिलेसम्म मानसिक स्वास्थ्यमा हुने समस्या र यसबाट बच्ने उपायको बारेमा जानकारी पाइसकेको मल्लले जानकारी दिए ।

जोशी, यादव र पराजुलीको सहयोगमा मल्लले आफूले मात्रै नभई यो अभियानलाई जिल्लाभर फैलाउन देशविदेशमा कार्यरत स्वयंसेवी मनोचिकित्सकको पनि सहयोग लिएर जिल्लामा स्वयंसेवी मनोपरार्मशदाताको संख्या बढाउने काम फनि गरिरहेका छन् । यसै क्रममा संयुत्त राष्ट्र संघको सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रममा समेत प्रशिक्षकको रुपमा काम गरिसकेका बेलायतमा बस्ने मनोचिकित्सक कृष्ण अधिकारीको सहयोगमा हाल बझाङका आठ जना शिक्षक, अधिवक्ता, स्वाथ्यकर्मीलाई मानसिक स्वास्थ्य सम्बन्धी प्रशिक्षण दिइरहेका छन् ।

‘अभियान गर्दै जाँदा सामान्य परामर्श नपाएर धेरैले ज्यान गुमाएका घटना थाहा पाए,’ मल्ल भन्छन्, ‘यो अभियान अब स्कुल मात्रै नझएर घरघर र व्यक्ती व्यत्तिसम्म पुर्‍याउनु पर्छ भनेर जिल्लाभित्र सञ्जाल बनाउन लागेको छु । देश बाहिर रहनुभएका सहयोगीले यसमा साथ दिइरहनु भएको छ ।’ उनले दुर्गम गाउँहरूमा पुगेर शिक्षक, विद्यार्थी र अभिभावकलाई मनोपरामर्श दिने स्वयंसेवी सञ्जाल बझाङका कुना कुनासम्म पुर्‍याउने आफ्नो लक्ष्य रहेको बताए । भविष्यमा यही सञ्जालमार्फत उपचार गर्नुपर्ने मानसिक समस्या भएका बिरामीलाई पनि सहयोग गर्ने चाहाना रहेको उनको भनाई छ ।  

‘आफ्नो  पीडालाई शक्तिमा बदल्दै अरूको सहायता गर्न उहााले लिएको संकल्प र सक्रियताले हामीलाई पनि केही गर्नु पर्छ भन्ने लाग्यो,’ अमेरिकाको  बोस्टनमा कार्यरत  वरिष्ठ वैज्ञानिक डा. बिष्णु जोशीले भने, ‘उहाँ आफै धेरैले सुन्न रुचाउने साहित्यकार पनि भएकोले उहाँमार्फत चलाइएको अभियान प्रभावकारी भएको देखेर यसलाई जिल्लाभर फैलाउन मैले समन्वय गरिहेको छु ।’

बझाङमा पछिल्लो समय मानसिक स्वास्थ्य समस्याका घटनामा बढिरहेको विभिन्न अध्ययनले पनि देखाएका छन् । बझाङको थलारा गाउँपालिकामा भएको मानसिक स्वास्थ्य सम्बन्धी शिविरबाट थलारामा मात्रै २५८ जनामा मानसिक समस्या पहिचान भएको थियो । जसमा आधाजसो लामो समयदेखि पीडित रहेको गाउँपालिका अध्यक्ष प्रकाश रोकाया बताउँछन् । यद्यपि जिल्लाका अन्य पालिकामा मानसिक स्वास्थ्य सम्बन्धी यस्ता गतिविधि भएका छैनन् । 

जिल्ला प्रहरी कार्यालयको रेकर्ड अनुसार बझाङमा चार वर्षको अवधिमा ९२ जनाले आत्महत्या गरिसकेका छन् । उनीहरू मध्ये धेरैजसो किशोरकिशोरी छन् । ‘सामाजिक सञ्जालको प्रयोग बढेसँगै यसमा आउने कन्टेट, साइबर हिंसा र बुलिङका घटनाले किशोरकिशोरीमा मानसिक समस्या भएर आत्महत्यासम्म पुग्ने गरेका घटना बढ्दै गएका छन्,’ जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी टेक जोरा भन्छन्, ‘उसै पनि मनोपरामर्शको पहुँच कम भएको बझाङ जस्तो जिल्लामा यस्ता अभियानले आत्महत्या रोकथाम र मानसिक समस्या नियन्त्रणका लागि कोषेढुगांको काम गर्छन् ।’ 

नेपालको संविधानले हरेक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने र स्वास्थ्य सेवामा समान पहुँच हुने हक सुनिश्चित गरेको छ । यस्तै, जनस्वास्थ्य ऐन २०७५ को दफा ३ को उपदफा ४ (ङ) मा मानसिक स्वास्थ्य सेवालाई आधारभूत स्वास्थ्य सेवाको सूचीमा समावेश गरेको छ । संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य (२०१६–२०३०) मा पनि मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी मानसिक स्वास्थ्यको प्रवर्द्धन गर्ने, नसर्ने रोगबाट हुने मृत्यु एक तिहाइले कम गर्ने र लागु पदार्थ दुर्व्यसनीको रोकथाम, उपचार र पुरस्थापना गर्ने लक्ष्य राखिएको छ । यद्यपि बझाङ जस्ता दुर्गम जिल्लामा भने मानसिक रोग नियन्त्रणका लागि प्रभावकारी प्रयास हुन सकेका छैनन् ।  विश्व स्वास्थ्य संगठनको सन् २०२५ अक्टोबरको तथ्यांक अनुसार संसारभरी एक अर्बभन्दा बढी मानिस मानसिक स्वास्थ्य समस्या लिएर बााचिरहेका छन्। 

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully