१३ किलोमिटर टाढाबाट ल्याइएको पानीले पनि धौलाकोटका २९ परिवारको खानेपानी र सिँचाइको समस्या समाधान हुन सकेको छैन।
What you should know
डडेल्धुरा — डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ धौलाकोटका २९ परिवारका लागि १३ किलोमिटर टाढाको ‘तुसरानी’ मुहानबाट ल्याइएको पानी खानेपानी, पशुचाैपायासँगै तरकारी बारीमासमेत प्रयोग गर्नुपर्नेछ । तर, मुहानमै पानीको मात्रा कम हुँदा खानेपानी र सिँचाइ दुवैलाई अभाव चुलिएको छ ।
घरघरमा धारा निर्माण गरिए पनि नियमित पानी नआउँदा धेरैजसो धारा सुक्खा छन्। आकाशे पानीको भरमा व्यावसायिक खेती गरिरहेका किसान उत्पादन घट्दै जाँदा चिन्तित छन् । गाउँका अधिकांश बासिन्दा कृषि पेशामा निर्भर भए पनि पर्याप्त पानी नहुँदा उत्पादन बढाउने प्रयास सफल हुन सकेको छैन ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको सहयोगमा निर्माण गरिएका धारामा स्रोत नै कमजोर भएपछि अपेक्षित सुविधा पाउन नसकेको स्थानीयको गुनासो छ। स्थानीयका अनुसार गाउँबाट करिब दुई किलोमिटर टाढा रहेको ‘कुलबाँज’ खोलाको मुहानबाट खानेपानी ल्याउने योजना सञ्चालन गरिए पनि मुहानमै पानी कम भएकाले नियमित आपूर्ति हुन सकेको छैन। त्यसबाहेक १३ किलोमिटर टाढाको तुसरानी क्षेत्रबाट अर्को पानी ल्याएर ट्यांकीमा जम्मा गरी पाइपमार्फत गाउँमा वितरण गरिए पनि अभाव उस्तै छ।
धारामा पानी नआउँदा स्थानीय जर्किन र बाल्टिन बोकेर गाउँभन्दा तल रहेको खोलामा पुग्न बाध्य छन्। त्यहाँको मूलबाट पानी भरेर ल्याउनु दैनिक जीवनको हिस्सा बनेको छ भने कहिलेकाहीँ घण्टौं लाइन बस्नुपर्ने अवस्था छ। घरअगाडि धारा भए पनि खोलासम्म पुग्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन्। स्थानीयका अनुसार लिफ्ट प्रविधिमार्फत खोलाको पानी गाउँसम्म ल्याउने प्रयास भइरहेको छ। बजेट व्यवस्थापन र प्राविधिक सहयोग भए सहज रूपमा पानी आपूर्ति गर्न सकिने उनीहरूको विश्वास छ।
२०५६ सालदेखि कृषि पेसामा लागेका किसान यज्ञराज अवस्थीले पछिल्ला वर्षमा चार रोपनी क्षेत्रफलमा काउली, मुलालगायत तरकारी व्यावसायिक रूपमा उत्पादन गर्दै आएका छन्। सरकारी सहयोग र आफ्नै लगानीमा पोलिहाउस निर्माण गरेर खेती गरिरहेका उनले सिँचाइ अभावकै कारण उत्पादन बढाउन नसकिएको बताए।
‘पहिला आफ्नै परिवारलाई खान पुग्ने मात्र खेती हुन्थ्यो, अहिले व्यावसायिक तरकारी खेती गरेका छौं,’ उनले भने, ‘तर सिँचाइका लागि पर्याप्त पानी छैन। पानीको सुविधा भए अझ धेरै उत्पादन गर्न सकिन्थ्यो।’
स्थानीय बसन्ती अवस्थीका अनुसार खानेपानी र सिँचाइको अभावले दैनिक जीवनसँगै कृषि उत्पादनमा प्रत्यक्ष असर परेको छ। ‘हामीले धेरै मेहनत गरेर साग र तरकारी उत्पादन गर्छौं,’ उनले भनिन्, ‘तर सिँचाइका लागि टाढाबाट पाइपमार्फत पानी ल्याउनुपर्छ। कहिलेकाहीँ त पानी नै नपुग्दा खेत सुक्छ।’
उनका अनुसार एउटै मुहानबाट खानेपानी र सिँचाइ दुवै सञ्चालन गर्नुपर्ने भएकाले दुवै क्षेत्रमा पानी अपुग हुने गरेको छ। समयमै सिँचाइ गर्न नपाउँदा उत्पादन घट्ने मात्र होइन, लगाएको बालीसमेत नष्ट हुने अवस्था आउने गरेको उनले बताइन्।
स्थानीय मालती अवस्थीका अनुसार सिँचाइका लागि ट्यांकी निर्माण गरिए पनि स्रोतमै पानी कम भएकाले त्यसको उपयोग हुन सकेको छैन। ‘पानी आउने पाइप कतै बिग्रियो भने मर्मत गर्न निकै कठिन हुन्छ,’ उनले भनिन्, ‘धारामा पानी नआएका बेला पिउने पानी लिन बस्तीभन्दा तल खोलासम्म पुग्नुपर्छ। आउजाउ र पानी भर्न आधा घण्टाभन्दा बढी समय लाग्छ।’
स्थानीय चेत अवस्थीका अनुसार गाउँलाई पानी आपूर्ति गर्ने तुसरानी मुहान पुग्न करिब चार घण्टा पैदल हिँड्नुपर्छ। पहाडी भूगोलका कारण पाइपलाइनको अवस्था बुझ्न वा मर्मत गर्न पुग्नै ठूलो चुनौती छ। ‘पाइपलाइन बिग्रियो भने बनाउन जाँदा धेरै समय लाग्छ,’ उनले भने, ‘मुहानसम्म पुग्नै चार घण्टा हिँड्नुपर्छ, त्यसमाथि सामान बोकेर जानुपर्दा झन् गाह्रो हुन्छ।’
स्थानीय लक्ष्मीदेवी अवस्थीका अनुसार गाउँमा आउने थोरै पानी पनि जोहो गरेर राख्नुपर्ने अवस्था छ। ‘मूलबाट ल्याएको पानी ट्यांकीमा जम्मा गरिन्छ तर गाउँभरिका किसानलाई पुग्दैन,’ उनले भनिन्, ‘आकाशे पानीकै भरमा खेती गर्नुपरेको छ। पिउने, सरसफाइ गर्ने र पशुचौपायालाई पानी खुवाउने सबै काममा समस्या छ। लगाएको तरकारीसमेत सुक्न थालेका छन्।’
उनका अनुसार कुलबाँज क्षेत्रमा रहेका दुई मुहानमध्ये एउटा निजी रूपमा प्रयोग भइरहेको र अर्कोबाट गाउँलेले सामूहिक रूपमा पानी उपभोग गर्दै आएका छन्। यो गाउँमा खानेपानीका लागि २०५६ सालमा तत्कालीन जिल्ला भूसंरक्षण कार्यालयले पाइप उपलब्ध गराएको थियो भने पाइपलाइन खन्ने र ट्यांकी बनाउने काम स्थानीयले जनश्रमदानमार्फत गरेका थिए। त्यतिबेला गाउँमा १६ परिवार मात्रै बसोबास गर्थे, अहिले संख्या बढेर २९ पुगेको स्थानीय चेतराज अवस्थीले बताए। पछि खानेपानी तथा सरसफाइ कार्यालयको सहयोगमा पाइपलाइन विस्तार गरेर गाउँसम्म पानी ल्याइएको हो।
किसान खेमराज अवस्थीले खुला खेतभन्दा पोलिहाउसमा कम पानी लाग्ने भएकाले त्यहीँ खेती गरिरहेको बताए। सिँचाइ सुविधा भए उत्पादन कम्तीमा दोब्बर बढ्ने उनको दाबी छ। ‘हामी कृषि ज्ञान केन्द्रका प्राविधिकको सल्लाहअनुसार खेती गरिरहेका छौं,’ उनले भने, ‘तर सिँचाइको पर्याप्त व्यवस्था छैन।’
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डडेल्धुराका प्रमुख महिम बोहराले धौलाकोटको खानेपानी आयोजना दुई वर्षअघि सम्पन्न भएर उपभोक्तालाई हस्तान्तरण गरिएको बताए। आयोजना हस्तान्तरणपछि मर्मतसम्भार र सञ्चालनको जिम्मेवारी उपभोक्ता समितिकै हुने उनले बताए। जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय डडेल्धुराका प्रमुख अमरबहादुर पालले चालु आर्थिक वर्षमा जिल्लाभर तटबन्ध र सिँचाइसम्बन्धी २४१ योजना रहेको जानकारी दिए। तीमध्ये ८४ वटा साना योजना विभिन्न कारणले कार्यान्वयनमा जान नसके पनि बाँकी सञ्चालनमा रहेको उनले बताए। कार्यालयमा दुई जना मात्र प्राविधिक रहेकाले जनशक्ति अभाव भए पनि बिदाको दिनमा समेत अनुगमन गरिरहेको र आगामी वर्ष किसानको आवश्यकताअनुसार पाइप वितरणलगायतका सहयोगलाई निरन्तरता दिइने उनको भनाइ छ।
