बाजुराबासीले सुरक्षाको माग गर्दै लाम्पाटामा स्थायी सुरक्षा संयन्त्र राख्नुपर्ने माग गर्दै आएका थिए ।
धनगढी — लाम्पाटा-रानीसैन क्षेत्रमा बाजुरा र हुम्लाका बासिन्दाबीच विवाद चर्किएपछि लाम्पाटामा अस्थायी संयुक्त सुरक्षा बेस स्थापना गर्न सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली बुधबार बाजुरा सदरमुकाम मार्तडीबाट लाम्पाटातर्फ प्रस्थान गरेको छ । लाम्पाटा क्षेत्र सदरमुकामबाट कम्तीमा तीन दिनको दूरीमा पर्छ ।
सशस्त्र प्रहरी ७ नम्बर बाहिनी सुदूरपश्चिम कार्यालय अत्तरियाका अनुसार सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २१ र नेपाल प्रहरीका सात जना गरी २८ सदस्यीय सुरक्षा टोली लाम्पाटा प्रस्थान गरेको हो । सशस्त्र प्रहरीतर्फको टोलीको नेतृत्व सशस्त्र प्रहरी निरीक्षक जनक पौडेलले गरेका छन् भने नेपाल प्रहरीतर्फ प्रहरी सहायक निरीक्षक मिठ्ठुबहादुर बोहरा नेतृत्वको टोली खटिएको हो ।
बाजुराले लाम्पाटामा अस्थायी प्रहरी पोष्ट स्थापना गरेपछि विवाद सुरु भएको हो । त्यसक्रममा हुम्लाका केही स्थानीयले रानीसैन जाने पर्यटक, स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा कर्मचारीमाथि आक्रमण गरेका थिए । यसै साता पुन: बाजुरावासीमाथि कुटपिट र घरगोठमा आगजनी गरिएको भन्दै सदरमुकाम मार्तडीमा दैनिक प्रदर्शन र धर्ना भइरहेको छ ।
बाजुराका बासिन्दाले सुरक्षाको माग गर्दै लाम्पाटामा स्थायी सुरक्षा संयन्त्र राख्नुपर्ने बताउँदै आएका छन् । त्यसक्रममा हाललाई अस्थायी सुरक्षा बेस स्थापना गर्ने गरी टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
