कांग्रेसभित्रको आन्तरिक किचलोका कारण मन्त्रीहरु फेरबदलको अवस्था उत्पन्न भएको हो ।
What you should know
धनगढी — सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री हेरफेरको अन्तिम तयारी भइरहेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुखको कार्यालयलाई आजै शपथ ग्रहणको तयारी गर्न मौखिक जानकारी दिइसकेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा पनि मुख्यन्त्री शाहले आफ्नो मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरुलाई धन्यवाद समेत दिइसकेका छन् । सामाजिक विकासमन्त्री मेघराज खड्काले भने, ‘मुख्यमन्त्रीले हामी बाहिरिने मन्त्रीहरुलाई धन्यवाद दिनुभयो ।’
सुदूरपश्चिममा कांग्रेस नेतृत्वमा एमालेको संयुक्त सरकार छ । दुवै दलमा मुख्यमन्त्री बाहेक मन्त्री फेरबदलको तयारी चलिरहेको छ । कांग्रेसभित्रको आन्तरिक किचलोका कारण सबै मन्त्रीहरु फेरबदलको अवस्था उत्पन्न भएको हो । कांग्रेसका ९ जना सांसदहरुले संसदीय दलमा शाहविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि मन्त्री भागबण्डामा कुरा मिलेपछि विवाद साम्य भएको हो । मुख्यमन्त्री शाह पूर्वसभापति शेरबहादुर देउवा पक्ष र अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदहरु सभापति गगन थापा पक्षमा गएका थिए । कांग्रेसमा मन्त्री भागबण्डा पनि त्यही अनुसार गरिएको छ ।
यसअघि कांग्रेस कोटाबाट आर्थिक मामिलामन्त्री बहादुरसिंह थापा, सामाजिक विकासमन्त्री मेघराज खड्का, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शिवराज भट्ट, सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का र आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बम सरकार थिए । उनीहरुमध्ये आर्थिक मामिलामन्त्री थापा, सामाजिक विकासमन्त्री खड्का, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री भट्ट र राज्यमन्त्री खड्का देउवा समूहका हुन् । नयाँ समझदारी अनुसार आर्थिक मामिला बाहेक अन्यमा दुई जना मन्त्री र एक जना राज्यमन्त्री थापा समूहले पाउने समझदारीमा विवाद टुंगिएको थियो ।
आर्थिक मामिलामन्त्रीमा प्रमुख सचेतक रहेका विक्रमसिंह धामीलाई मन्त्री बनाउने तयारी मुख्यमन्त्रीको छ । थापा समूहले भने अझै नाम एकिन गर्न सकेको छैन । सामाजिक विकास, उद्योग पर्यटन वन तथा वातावरणमा मन्त्री र एक जना राज्यमन्त्रीले पठाउनुपर्ने छ । अगुवाइ गरेका दिवानसिंह विष्टले आफू मन्त्री नहुने बताएकाले अन्य सात जनाको मन्त्रीका लागि हानाथाप भएपछि केन्द्रबाटै नाम तोक्न भनिएको थियो । यता राज्यमन्त्री रहेकी सरस्वती खड्का बाहिरिनु परेपछि उनलाई मुख्यमन्त्रीले प्रमुख सचेतक बनाएका छन् ।
यता कांग्रेसमा मन्त्री फेरबदल हुने भएपछि एमालेले पनि मन्त्री फेरबदलको तयारी गरेको थियो । आइबार हाल रहेको सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउन नामसहित निर्देशन आएको भएपनि सोमबार अपराह्न हालकै मन्त्री कायम राख्न निर्देशन आएको थियो सांसदहरुले बताएका छन् ।
