शैक्षिक गुणस्तर परीक्षण केन्द्रले आर्थिक वर्ष २०८१/८२ मा गरेको कार्य सम्पादन परीक्षणमा सिगास गाउँपालिका ७३.३२ अंक ल्याएर जिल्लामै पहिलो भएको हो ।
What you should know
बैतडी — बैतडीका १० वटै स्थानीय तहका विद्यालयको कार्य सम्पादन स्तर परीक्षणमा जिल्लाको विकट सिगास गाउँपालिका पहिलो भएको छ ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्रले आर्थिक वर्ष २०८१/८२ मा गरेको कार्य सम्पादन परीक्षणमा सिगास गाउँपालिका ७३.३२ अंक ल्याएर जिल्लामै पहिलो भएको हो ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्रका अनुसार जिल्लाका १० स्थानीय तहका १२८ सामुदायिक विद्यालयको कार्य सम्पादनको स्तर मापनमा सिगास गाउापालिकाका १५ विद्यालयको समेटिएका थिए । जसमा १२ विद्यालयको मध्यम र ३ वटाको समान्य स्तर रहेकोले औसत अंक ७३.३२ अंक पुगेको हो ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्रको वार्षिक प्रतिवेदन अनुसार सिगासका विद्यालयहरुको समग्र कार्यसम्पादन स्तर राम्रो पाइएको छ । यस्तै दशरथचन्द नगरपालिका, पञ्चेश्वर गाउँपालिका, मेलौली नगरपालिका र सूर्नया गाउँपालिकाका विद्यालयहरुको कार्य सम्पादन स्तर कमजोर रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
शैक्षिक गुणस्तर मापन गर्दा विद्यालयको समग्र रुपमा विद्यार्थीको सिकाई उपलब्धि, शिक्षकको योग्यता र कार्यसम्पादन, विद्यालय व्यवस्थापन तथा नेतृत्व, शिक्षण सिकाइ प्रक्रिया, भौतिक पूर्वाधार, विद्यार्थी भर्ना, उपस्थिती र निरन्तरता, अभिभावक र समुदायको सहभागिता जस्ता क्षेत्रमा मूल्यांकन गरी अंक दिइएको हो ।
कार्य सम्पादनमा पाटन नगरपालिकाका १४ विद्यालयको स्तर मापन गर्दा ८ को मध्यम र ६ को स्तर सामान्य रहेको छ । पाटन नगरपालिकाले औसत ६७.४८ अंक पाएको छ । यस्तै दोगडाकेदार गाउँपालिकाका १० विद्यालयको स्तर मापनमा ८ को सामान्य र २ को मध्यम पाइएको छ । जसमा सबैको औषत अंक जोड्दा ६४ अंक पाएको छ । यस्तै पुर्चौंडी नगरपालिकाका १८ विद्यालयमध्ये १३ को सामान्य र ५ को मध्यम स्तर रहेको छ । पुर्चौंडी नगरपालिकाले ६५.३१ औसत अंक पाएको छ ।
यस्तै डिलाशैनी गाउँपालिकाका १२ विद्यालयमा ९ को सामान्य र ३ को मध्यम स्तर पाइँदा ६३.१३ औसत अंक पाएको छ । शिवनाथ गाउँपालिकाका ७ विद्यालयको स्तर मापन गर्दा ६ को सामान्य र एक विद्यालयको स्तर मध्यम रहेकाले औसत अंक ६०.२६ अंक पुगेको छ । यस्तै सूर्नया गाउँपालिकाका १२ विद्यालयको कार्यसम्पादन स्तर मापन गर्दा ११ को सामान्य र एक विद्यालयको मध्यम स्तर आएकाले गाउँपालिकाले ५९.५४ औसत अंक पाएको छ ।
यस्तै पञ्चेश्वर गाउँपालिकाका ९ विद्यालयको स्तर मापन गर्दा ९ सबैको सामान्य स्तर पाइएकाले औसत अंक ५७.६६ ल्याएको छ । यस्तै दशरथचन्द नगरपालिकाका १९ विद्यालयको स्तर मापनमा सबै सामान्य स्तरमा रहेकाले ५७.१२ औसत अंक पाएको छ । मेलौली नगरपालिकाका १२ विद्यालयको स्तर मापन गर्दा ११ को सामान्य र एक विद्यालयको मध्यमस्तर रहेकाले ५६.१३ औसत अंक पाएको छ ।
