विद्युत जडान नहुँदै दुई वर्षदेखि महशुल तिर्दै दोराका उपभोक्ता
What you should know
बैतडी — बैतडीको सूर्नया गाउँपालिका–८ दोराका बासिन्दाले बिजुली प्रयोग नगरीकनै दुई वर्षदेखि महशुल तिर्दै आएका छन् । विद्युतको मिटर किनेर घरमा थन्क्याएर राखेका दोरा गाउँका ५१ घरधुरीले न्यूनतम महशुल निरन्तर तिरिरहेका छन् ।
गाउँमा विद्युत लाइन विस्तारको काम सुरु भएपछि मिटर जडानका लागि वडा कार्यालयसँग स्थानीयले बजेट माग गरेका थिए । स्थानीयको माग अनुसार वडा कार्यालयले ढोले र दोरा टोलका ३ सय २२ घरधुरीका लागि अनुदानमा विद्युत मिटर उपलब्ध गराएको थियो । तीमध्ये दोराका ५१ घरधुरीमा विद्युत लाइन विस्तार नहुँदा जडान नगरिकनै विद्युत मिटर घरमा राख्नु परेको हो ।
विद्युत उपभोग नगरिकनै आफूहरुले मासिक ५० रुपैयाँका दरले महसुल तिर्नुपरेको स्थानीय लोकेन्द्रबहादुर महराले जानकारी दिए । ‘प्रयोग नगरिकनै सरकारलाई बिल तिरिरहेका छौं,’ उनले भने, ‘बिजुली नबालीकनै ५० रुपैयाँ महशुल तिर्न ५ सय रुपैयाँ भाडा तिरेर पाटन जानुपर्छ ।’ उपभोग नगरेरै तिर्नुपरेको महशुल समयमै भुक्तानी नगरे जरिवनासमेत हुने उनले बताए ।
स्थानीयको माग अनुसार २०८०/८१ मा वडा कार्यालयले अनुदानमा स्थानीयलाई विद्युत मिटर उपलब्ध गराएको सूर्नया–८ का वडाध्यक्ष भानबहादुर बोहराले बताए । ‘ठेकेदारले विद्युत विस्तारको काम अलपत्र छोडिदिएपछि दोराका स्थानीयले विद्युत नबालीकनै महसुल तिर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘विद्युतको काम अगाडि बढाइदिनु पर्यो भनेर जिल्ला, प्रदेशदेखि केन्द्रको विद्युत कार्यालयसम्म धाउँदै दुई वर्ष हुन लाग्यो ।’
विद्युतको लाइन पूर्णरुपमा जडान भई विद्युत संचालन भएपछि मात्र उपभोक्ताले मिटर माग गर्नुपर्ने हुन्छ । दोराका स्थानीयले कार्यालयमा झुट्टा विवरण भरी पहिले नै मिटर लगेकाले अहिले त्यस्तो समस्या आएको विद्युत प्राधिकरण शाखा बैतडीका प्रमुख अशेश्वर साहले बताए । केन्द्रबाट ठेक्का संचालन भइरहेकाले यसबारे कुनै जानकारी नभएको उनले बताए ।
बैतडीका विभिन्न स्थानमा विद्युत विकास परियोजनामार्फत विद्युत विस्तारको काम भइरहेको छ । सूर्नयाको दोरा क्षेत्रमा पनि परियोजनामार्फत नै विद्युत विस्तारको काम भइरहेको हो । परियोजनाले समयमै विद्युत विस्तार नगर्दा उपभोक्ता मारमा परेका छन् ।
परियोजनबाट एब्स्युलिट प्रोजेक्ट इण्डिया लिमिटेडले सूर्नयाको दोरासहित जिल्लाका पाटन नगरपालिका, सिगास गाउँपालिका र पुर्चौंडी नगरपालिकाका केही वडामा विद्युत विस्तारको ठेक्का लिएर काम गरिरहेको छ।
केही समययता कम्पनीमा विद्युतीकरणका केही सामग्री आपूर्तीमा समस्या भएकाले विद्युत लाइन विस्तारमा ढिलाइ भएको कम्पनीका साइट इन्जिनियर दीपक मण्डलले बताए । सामान आउने बित्तिकै दोरामा विद्युत लाइन विस्तारको काम हुने उनले बताए ।
