डडेल्धुरामा १० महिनामा ६१ सवारी दुर्घटना, १२ जनाको मृत्यु

दुर्घटनाका प्रमुख कारणमध्ये चालकको लापरबाही, सवारी साधनमा क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति तथा जिल्लाका अधिकांश सडक साँघुरा र जोखिमयुक्त हुनु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका प्रमुख आकाश रावलले बताए ।

जेष्ठ २०, २०८३

तर्कराज भट्ट

61 vehicle accidents in Dadeldhura in 10 months, 12 people killed

What you should know

डडेल्धुरा — चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्म डडेल्धुरामा ६१ वटा सवारी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने १ सय १६ जना घाइते भएका छन् । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका प्रमुख आकाश रावलका अनुसार दुर्घटनाका घटनाले जिल्लाको सडक सुरक्षाप्रति चुनौती थपिएको छ । ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार साउन महिनामा एक जना, भदौमा पाँच जना, कार्तिकमा एक जना, माघमा एक जना र फागुनमा चार जना गरी १२ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका हुन् । 

दुर्घटनाका प्रमुख कारणमध्ये चालकको लापरबाही, सवारी साधनमा क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति तथा जिल्लाका अधिकांश सडक साँघुरा र जोखिमयुक्त हुनु रहेको प्रमुख रावलले बताए । विशेष गरी ग्रामीण क्षेत्रमा रहेका कच्ची तथा साँघुरा सडकमा सवारी सञ्चालन गर्दा आवश्यक सावधानी नअपनाउँदा दुर्घटनाको जोखिम बढ्ने गरेको छ । 

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले नियमित रूपमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । विद्यालय, स्थानीय तह, यातायात व्यवसायी तथा चालकहरूसँग समन्वय गरी ट्राफिक नियमसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको र सडक सुरक्षाका विषयमा जानकारी प्रदान गर्ने कार्यलाई प्राथमिकता दिइएको कार्यालयले जनाएको छ । 

यस्तै, ट्राफिक नियम उल्लङ्गन गर्ने सवारी चालक तथा सवारी साधनमाथि कारबाही पनि गरिएको छ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा विभिन्न प्रकारका ट्राफिक नियम उल्लङ्गन गर्ने १ हजार ५ सय ५९ वटा सवारी साधन कारबाहीमा परेका छन् । ती सवारी साधनबाट ११ लाख ८३ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरीले दुर्घटना न्यूनीकरणका लागि चालकले मादक पदार्थ सेवन गरी सवारी नचलाउन, तीव्र गति नियन्त्रण गर्न, सवारीको प्राविधिक अवस्था नियमित जाँच गर्न तथा यात्रुहरूले पनि सुरक्षित यात्रासम्बन्धी नियम पालना गर्न आग्रह गरेको छ । 

डडेल्धुरासहित सुदूरपश्चिमका पहाडी जिल्लामा सडक विस्तारसँगै सवारी चाप बढ्दै गएको छ । तर, सडकको अवस्था, चालकको लापरबाही तथा ट्राफिक नियमको पूर्ण पालना नहुँदा दुर्घटनाका घटना दोहोरिने गरेका छन् ।

तर्कराज

Link copied successfully