सुदूरपश्चिममा एमालेको सहकार्यमा कांग्रेस नेतृत्वको सरकार छ । कांग्रेसले कमलबहादुर शाहलाई संसदीय दलको नेताबाट हटाएमा मुख्यमन्त्री पदबाट राजीनामा दिनु पर्ने हुन्छ ।
What you should know
धनगढी — सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहविरुद्ध कांग्रेस संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेश सभामा कांग्रेस संसदीय दलमा सभापति गगन थापा समर्थन सांसदहरूले दल नेता रहेका मुख्यमन्त्री कमलबहादुर शाहविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । शाह कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट हुन् ।
१८ जना सांसद रहेको संसदीय दलका ९ जनाले प्रस्तावमा हस्ताक्षर गरेका छन् । हस्ताक्षर गर्नेमा सचेतक गीता चौधरी, सांसदहरू मानबहादुर रावल, दिवानसिंह विष्ट, पदमबहादुर शाही, डम्मरी महरा, तुलसी देवकोटा, बेलबहादुर राना मगर, ललिता सुनार र जुनाकुमारी दानी रहेका छन् ।
कांग्रेसका सांसदहरूले मुख्यमन्त्री शाहलाई राजीनामा दिन माग गर्दै आएका थिए । उनीहरूले राजीनामा नदिए दल नेताबाट हटाइदिने धम्की दिँदै आएका थिए ।
शाहविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको कांग्रेस सांसद दिवानसिंह विष्टले पुष्टि गरे । विष्टले कांग्रेसका कूल सांसद संख्या १८ जना रहेकामा सांसद प्रकाशबहादुर देउवा महिनौंअघिदेखि अमेरिका भएकाले ९ जना बहुमत हुने जिकिर गरे । विष्टले सरकारको नेतृत्व परिवर्तन गर्ने उद्देश्यले संसदीय दलको नेतामा अविश्वासको प्रस्ताव दर्ता गरिएको बताए । यता, संसदीय दलका प्रमुख सचेतक विक्रमसिंह धामीले भने प्रस्ताव दर्ताबारे आफूलाई जानकारी नभएको बताएका छन् ।
अविश्वासको प्रस्ताव दर्ताकर्ता एक सांसदले अब पार्टी केन्द्रीय सदस्यको रोहबरमा छिनोफानो हुने बताए । ‘सम्भवतः दुई तीन दिनभित्र हुन्छ होला’ ती सांसदले भने ‘१७ मध्ये ९ जना बहुमत हुने नै भयो । प्रकाश देउवा अमेरिकाबाट आउने सम्भावना नहोला । बरु सांसदहरू हाम्रो पक्षमा थपिन सक्छन् ।’
सुदूरपश्चिममा एमालेको सहकार्यमा कांग्रेस नेतृत्वको सरकार छ । शाह दलको नेताबाट हटाइएमा मुख्यमन्त्री पदबाट राजीनामा दिनु पर्ने हुन्छ । त्यस अवस्थामा सरकार फेरबदलको चक्र पुनः सुरु हुन्छ । हाल कांग्रेसका १८ र एमालेका ११ सांसद छन् । सरकार गठन गर्न २७ सांसद आवश्यक पर्छ ।
