लुम्बिनीदेखि पदयात्रामा निस्किएका मदन डडेल्धुरा आइपुगे

दाङका युवा मदन केसीले गत चैत ५ गते बुद्धभूमि लुम्बिनीबाट ‘महान् नेपाल पाँचवर्षे राष्ट्रिय पदयात्रा’ सुरु गरेका हुन् । यात्रा सुरु गरेको दुई महिनापछि उनी डडेल्धुरा आइपुगेका छन् ।

जेष्ठ १८, २०८३

तर्कराज भट्ट

Madan, who set out on a trek from Lumbini, arrives in Dadeldhura

What you should know

डडेल्धुरा — देशलाई नजिकबाट चिन्ने, बुझ्ने र आफ्नै खुट्टाले टेकेर अनुभव गरेको नेपालको कथा लेख्ने उद्देश्यसहित दाङका युवा मदन केसी पाँचवर्षे राष्ट्रिय पदयात्रामा निस्किएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिकाका २८ वर्षीय केसीले नेपालका ७७ वटै जिल्लाको पैदल यात्रा गर्ने अभियानअन्तर्गत सातौं जिल्लाका रूपमा डडेल्धुरा पुगेको बताए । 

‘महान् नेपाल पाँचवर्षे राष्ट्रिय पदयात्रा’ नाम दिइएको अभियान उनले गत चैत ५ गते बुद्धभूमि लुम्बिनीबाट औपचारिक रूपमा सुरु गरेका हुन् । यात्रा सुरु गरेको दुई महिनापछि कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पार गर्दै उनी डडेल्धुरा आइपुगेका हुन् । 

केसीका अनुसार यो यात्रा नेपाललाई गहिरो रूपमा अध्ययन गर्ने अभियान हो । ‘आफ्नै आँखाले देखेको नेपाल र आफ्नै खुट्टाले टेकेर महसुस गरेको नेपालको वास्तविक चित्र संकलन गर्ने मेरो उद्देश्य हो,’ उनले भने, ‘देशका सम्भावना, सपना, चुनौती, सामाजिक अवस्था, संस्कृति र स्थानीय भाषालाई समेटेर अन्ततः डकुमेन्ट्री निर्माण तथा पुस्तक लेख्ने मेरो योजना छ ।’

केसीले आफ्नो यात्रालाई पूर्ण रूपमा पैदल यात्राका रूपमा अघि बढाइरहेका छन् । यात्राका क्रममा कुनै पनि सवारीसाधन प्रयोग नगर्ने उनको प्रतिबद्धता छ । पाँच वर्ष अर्थात् १ हजार ८ सय २५ दिनसम्म चल्ने यात्रामा उनी घरसमेत नफर्किने योजना सुनाउँछन् । Madan, who set out on a trek from Lumbini, arrives in Dadeldhura

अधिकांश यस किसिमका भ्रमण जिल्ला सदरमुकाममा मात्रै सीमित रहने गरेका भए पनि आफ्नो अभियान फरक प्रकृतिको भएको उनले सुनाए । उनले प्रत्येक जिल्लाका ग्रामीण बस्ती, ऐतिहासिक स्थल, धार्मिक क्षेत्र, सांस्कृतिक सम्पदा तथा पर्यटकीय गन्तव्यमा पुगेर स्थानीय जनजीवन बुझ्ने प्रयास गरिरहेका छन् । राजमार्ग केन्द्रित यात्राभन्दा गाउँगाउँ पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्नु आफ्नो प्राथमिकता रहेको उनले बताए । 

नेपालको भौगोलिक विविधता, भाषिक सम्पदा र सांस्कृतिक बहुलता विश्वमै अद्वितीय रहेको उल्लेख गर्दै केसीले पदयात्राले आफूलाई देशको वास्तविक स्वरूप बुझ्न सहयोग गरिरहेको बताए । उनले विभिन्न स्थानमा स्थानीयवासीसँग भेटघाट गर्दै उनीहरूका अनुभव, समस्या, अपेक्षा र सम्भावनाबारे अभिलेखीकरणसमेत गरिरहेका छन् । 

उनका अनुसार यात्राको अन्तिम उपलब्धि ७७ जिल्ला पुग्नु मात्रै नभई यात्राका क्रममा संकलित अनुभव, अध्ययन र अभिलेखका आधारमा नेपालका विविध पक्ष समेटिएको वृत्तचित्र तथा पुस्तक प्रकाशन गर्ने लक्ष्य राखिएको छ । यसले भावी पुस्तालाई नेपालको वास्तविक सामाजिक, सांस्कृतिक र भौगोलिक अवस्थाबारे बुझ्न सहयोग पुग्ने उनको विश्वास छ । 

डडेल्धुरा प्रवेशसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लातर्फको यात्रा सुरु भएको उनले बताए । आगामी दिनमा बैतडी, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुलालगायतका जिल्ला हुँदै देशका अन्य भूभागमा यात्रा निरन्तर जारी रहने उनको योजना छ ।

तर्कराज

Link copied successfully