बैतडी अस्पताललाई स्तरोन्नति गरिने

जिल्ला अस्पताल बैतडीमा ५० शय्याको अस्पताल सञ्चालन गर्न सकिने भौतिक संरचना र बिरामीको चाप रहेकाले त्यसै अनुसार अस्पताल सञ्चालन गर्नुपर्ने माग प्रदेश सरकारसँग गरेको जिल्ला अस्पताल बैतडीका अध्यक्ष धनबहादुर क्षेत्रीले बताए ।

जेष्ठ १८, २०८३

मोहन चन्द

Baitadi Hospital to be upgraded

बैतडी — जिल्ला अस्पताल बैतडीलाई स्तरोन्नति गरिने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले सोमबार अगामी आर्थिक वर्षको नीति कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख नजिर मियाले बैतडीसहितका पहाडी जिल्लामा रहेका अस्पताललाई २५ देखि ५० शय्यामा स्तरोन्नति गर्ने बताएका हुन् । 

अहिले जिल्ला अस्पताल बैतडी १५ शय्यामा संचालन भइरहेको भए पनि पूर्वाधार र सेवाग्राहीको चाप हेर्दा ५० शय्याको सुवासुविधा दिइरहेको जिल्ला अस्पताल बैतडीका अध्यक्ष धनबहादुर क्षेत्रीले बताए । 

जिल्ला अस्पताल बैतडीमा ५० शय्याको अस्पताल सञ्चालन गर्न सकिने भौतिक संरचना र बिरामीको चाप रहेकाले आफूहरूले त्यसै अनुसारको अस्पताल सञ्चालन गर्नुपर्ने माग प्रदेश सरकारसँग गरेको अध्यक्ष क्षेत्रीले बताए । 

एमएसएस एसिसमेन्ट सर्वेमा मार्किङ स्कोरमा ९१ अंक ल्याई दुई पटक देशकै उत्कृष्ट अस्पतालमा गणना भएकाले पनि प्रदेश सरकारले जिल्ला अस्पताल बैतडीलाई ५० शय्याको बनाउनेमा ढुक्क रहेको उनले बताए ।

यस्तै सुदूरपश्चिम प्रदेशका तीन प्रादेशिक अस्पताल सेती, महाकाली र टीकापुर अस्पताललाई एक सय शय्यामा स्तरोन्नति गरिने भएका छ ।

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully