विभिन्न खेल विधामा उत्कृष्ट प्रदर्शन गर्दै कैलालीले ३२ स्वर्ण, १७ रजत र ९ कास्यसहित कुल ५८ पदक जित्दै प्रथम स्थान हासिल गरेको हो ।
What you should know
डडेल्धुरा — सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा डडेल्धुराको टुँडिखेलमा तीन दिनसम्म सञ्चालन भएको प्रदेशस्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कैलाली च्याम्पियन बनेको छ । विभिन्न खेल विधामा उत्कृष्ट प्रदर्शन गर्दै कैलालीले ३२ स्वर्ण, १७ रजत र ९ कास्यसहित कुल ५८ पदक जित्दै प्रथम स्थान हासिल गरेको हो ।
कञ्चनपुर १७ स्वर्ण, १३ रजत र १३ कांस्यसहित ४३ पदक जितेर दोस्रो तथा डडेल्धुरा ६ स्वर्ण, ७ रजत र १७ कांस्यसहित ३० पदकका साथ तेस्रो स्थानमा रह्यो । बैतडी ६ स्वर्ण, ६ रजत र १३ कास्यसहित २६ पदकसहित चौथो, दार्चुला ३ स्वर्ण, २ रजत र ७ कास्यसहित १२ पदकसहित पाँचौं, बझाङ २ स्वर्ण, १ रजत र ६ कास्यसहित ९ पदकसहित छैटौं, बाजुरा ११ रजत र १५ कास्यसहित २६ पदकसहित सातौं, डोटी ४ रजत र १२ कास्यसहित १६ पदकसहित आठौं र अछाम ४ रजत र ८ कास्यसहित १२ पदकसहित नवौं स्थानमा रहे ।
बिहीबारदेखि सुरु भएको प्रतियोगितामा प्रदेशका नौवटै जिल्लाका खेलाडीको सहभागिता रहेको थियो । भलिबल, कबड्डी, तेक्वान्डो, एथलेटिक्सलगायत विभिन्न विधामा प्रतिस्पर्धा सञ्चालन गरिएको थियो ।
प्रतियोगितामा महिला भलिबलतर्फ बझाङ च्याम्पियन बन्दा पुरुष भलिबलतर्फ कञ्चनपुरले उपाधि जितेको थियो । अन्य विधाका नतिजाले भने समग्र पदकमा कैलालीलाई अग्रता दिलाएको हो ।
समापन समारोहलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले खेलकुद क्षेत्रको दिगो विकासका लागि स्थानीय तहका प्रत्येक वडाले बजेट विनियोजन गर्नुपर्ने बताइन् । खेलकुदलाई युवाको क्षमता विकास, अनुशासन, स्वास्थ्य र प्रदेशको पहिचानसँग जोडिएको महत्वपूर्ण क्षेत्रका रूपमा व्याख्या गर्दै उनले खेलाडी उत्पादनदेखि पूर्वाधार निर्माणसम्मका गतिविधिलाई वडास्तरबाटै प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन् ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्काले विगतमा कैलाली र कञ्चनपुरमा मात्रै सीमित प्रतियोगिता यसपटक डडेल्धुरामा आयोजना गर्नु प्रदेशभर खेलकुद विस्तार गर्ने प्रयास भएको उल्लेख गरे ।
डडेल्धुरा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष जगत ऐरले पहिलोपटक पहाडी जिल्लामा सम्पन्न प्रतियोगिताले सुदूरपश्चिममा खेलकुद गतिविधिको विस्तार, विकेन्द्रीकरण र समावेशी विकासको सन्देश दिएको बताए ।
तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी र खेलप्रेमीको उल्लेखनीय सहभागिता रहेको थियो । पहाडी जिल्ला डडेल्धुरामा सफलतापूर्वक सम्पन्न भएको राष्ट्रपति रनिङ शिल्डलाई सुदूरपश्चिमको खेलकुद इतिहासमा महत्वपूर्ण उपलब्धिका रूपमा रहेको आयोजकले जनाएको छ।
