राज्यमन्त्री खड्काले खेलकुद क्षेत्रको समग्र विकासका लागि प्रदेश सरकार मात्र नभई स्थानीय सरकार र वडा कार्यालयहरू पनि उत्तिकै जिम्मेवार बन्नुपर्ने बताइन् ।
What you should know
डडेलधुरा — सुदूरपश्चिम प्रदेश सरकारकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले खेलकुद क्षेत्रको दिगो विकासका लागि स्थानीय तहका प्रत्येक वडाले बजेट विनियोजन गर्नुपर्ने बताएकी छन् । खेलकुदलाई युवाको क्षमता विकास, अनुशासन, स्वास्थ्य र प्रदेशको पहिचानसँग जोडिएको महत्त्वपूर्ण क्षेत्रका रूपमा व्याख्या गर्दै उनले खेलाडी उत्पादनदेखि पूर्वाधार निर्माणसम्मका गतिविधिलाई वडास्तरबाटै प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन् ।
डडेलधुराको टुँडिखेलमा बिहीबारदेखि सञ्चालन भएको सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै राज्यमन्त्री खड्काले खेलकुद क्षेत्रको समग्र विकासका लागि प्रदेश सरकार मात्र नभई स्थानीय सरकार र वडा कार्यालयहरू पनि उत्तिकै जिम्मेवार बन्नुपर्ने बताइन् । खेलकुदको आधार विद्यालय र समुदाय भएकाले प्रतिभा पहिचान तथा खेलाडी उत्पादनको काम स्थानीय तहबाटै सुरु हुने उनको भनाइ छ । उनले प्रत्येक वडाले खेलकुदलाई बजेटको प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरिन् ।
खेलकुदले युवाहरूलाई सकारात्मक मार्गमा डोर्याउने, अनुशासित नागरिक निर्माण गर्ने र समाजमा एकताको भावना विकास गर्ने भएकाले यस क्षेत्रमा गरिएको लगानी दीर्घकालीन रूपमा फलदायी हुने उनले बताइन् । गाउँ–गाउँ र टोल–टोलमा रहेका प्रतिभाशाली खेलाडीहरूलाई अवसर प्रदान गर्न स्थानीय सरकारको सक्रियता आवश्यक रहेको उनको भनाइ थियो ।
राज्यमन्त्री खड्काले सरकारले खेलकुद क्षेत्रका लागि अपेक्षाअनुसार बजेट छुट्याउन नसकेको उल्लेख गर्दै आगामी दिनमा यस क्षेत्रलाई थप प्राथमिकतामा राखिने विश्वास व्यक्त गरिन् ।
केन्द्र सरकारबाटै खेलकुदको विकासका लागि आवश्यक पूर्वाधार निर्माण, खेलाडी प्रशिक्षण, प्रतियोगिताको नियमित आयोजना तथा प्रतिभा संरक्षणका कार्यक्रम बजेट तथा योजनामा समावेश गरिने विश्वास उनले व्यक्त गरिन् ।
केन्द्र सरकारको बजेटमा खेलक्षेत्रमा कम बजेट आएको भन्दै रातो किताबमा खेलकुद क्षेत्रसँग सम्बन्धित कार्यक्रमहरूलाई समेट्दै लगानी बढाउनुपर्ने आवश्यकता औँल्याउँदै उनले खेलकुदलाई खर्च नभई भविष्य निर्माणको लगानीका रूपमा बुझ्नुपर्ने बताइन् । उनले संघ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारले खेलकुदको विकासका लागि साझा प्रतिबद्धतासहित बजेट तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिइन् ।
राज्यमन्त्री खड्काले यस वर्षको प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता ऐतिहासिक रहेको बताइन् । उनका अनुसार प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड पहिलोपटक पहाडी जिल्लामा आयोजना गरिएको हो । यसअघि प्रदेशस्तरका प्रतियोगिताहरू कैलाली र कञ्चनपुरमा केन्द्रित हुँदै आएका थिए । पहाडी जिल्ला डडेलधुरामा प्रतियोगिता आयोजना हुनुले प्रदेशका सबै भूगोललाई समान अवसर प्रदान गर्ने सन्देश दिएको उनको भनाइ थियो ।
