कञ्चनपुरमा सामूहिक कुटपिटबाट होटल संचालक घाइते

तीन/चार जनाको समूहले संचालक चन्दसँगै होटलका कामदारमाथि कुटपिट गरेको हो ।

जेष्ठ १०, २०८३

भवानी भट्ट

Hotel operator injured in gang attack in Kanchanpur

कञ्चनपुर — महेन्द्रनगरको शनिबार राति युवाहरुको सामूहिक कुटपिटबाट होटल संचालक घाइते भएका छन् । 

महेन्द्रनगरको गल्ली नम्बर ४ मा रहेको होटल ग्राण्ड प्यासिफिकमा शनिबार राति भएको उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। 

जिल्ला प्रहरी कार्यालयका अनुसार तीन/चार जनाको समूहले होटल सञ्चालकका भाईमाथि कुटपिट गरेको हो । होटल भीमदत्त नगरपालिका–२ उल्टाखामका किशोर चन्दले सञ्चालन गरिरहेका हुन् । उनका भाई गोविन्द चन्दमाथि एउटा समूहले कुटपिट गरेको जिल्ला प्रहरी कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाले बताए ।

उनका अनुसार तीन/चार जनाको समूहले चन्दसँगै होटलका कामदारमाथि कुटपिट गरेका हुन् । उनीहरुमध्ये केहीको पहिचान भइसकेको छ ।

कुटपिटबाट घाइते भएका चन्दलाई महाकाली प्रादेशिक अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ । ‘अहिले घटनामा संलग्नहरुको खोजी भइरहेको छ,’ प्रहरी निरीक्षक थापाले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको छ ।’ उनका अनुसार होटलमा पनि क्षति पुगेको छ । 

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully