सडक अवरोधकर्ताहरूले लाम्पाटा घटनाको छानबिन, दोषीउपर कारबाही, विस्थापितहरूको पुनर्थापना, लुटपाट गरिएका सामग्रीको क्षतिपूर्ति, प्रहरी चौकी निर्माणलगायतका माग राखेका थिए ।
What you should know
धनगढी — बाजुरा र हुम्लाबीच उत्पन्न रानीसैन विवादका कारण बाजुराको हिमाली गाउँपालिकाका विभिन्न ठाउँमा २ दिनदेखि अवरुद्ध कर्णाली करिडोर शुक्रबार मध्यान्हदेखि खुलेको छ ।
आन्दोलनरत हिमाली युवा समूह तथा हिमाली गाउँपालिकाका राजनीतिक दल र जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल गुल्म हेड क्वाटर बाजुराबीच विवाद समाधानमा सम्झौता भएसँगै राजमार्गमा सवारी आवागमन नियमित भएको हो ।
हिमाली गाउँपालिका-३ लाम्पाटामा २ देखि ४ जेठसम्म हुम्ला खार्पूनाथ गाउँपालिकाका- २ र ३ बाट आएका मानिसले घरभित्रै पसेर कुटपिट र लुटपाट गरेको भन्दै उक्त घटनाको छनबिनको माग गर्दै हिमाली युवा समूहले आन्दोलन गरेको थियो । आन्दोलन स्वरुप उनीहरूले राजमार्गका विभिन्न स्थानमा अवरोध गरेका थिए ।
हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लको रोहवरमा सडक अवरुद्धकर्ता समूह हिमाली युवा क्लबले रानीसैन घटनाको छानबिन तथा दोषीमाथि कारबाही गर्ने सहमतिपछि सडक आवागमन सुरु गरिएको हो ।
धुलाचौर हिमाली गाउँपालिकाको केन्द्र हो । उक्त ठाउँमा सडक अवरुद्ध गर्दा हुम्ला आवतजात गर्ने दर्जनौं सवारी साधन रोकिएका थिए भने सयौं यात्रीले अलपत्र अवस्थामा थिए ।
कांग्रेस, एमाले र रास्वपाका स्थानीय प्रतिनिधिहरूको उपस्थितिमा विभिन्न ६ बुँदे माग राखेर सडक आवागमन चौबिस घण्टाका लागि सञ्चालन भएको हो । सडक अवरोधकर्ताहरूले लाम्पाटा घटनाको छानबिन, दोषीउपर कारबाही, विस्थापितहरूको पुनर्थापना, लुटपाट गरिएका सामग्रीको क्षतिपूर्ति, प्रहरी चौकी निर्माणलगायतका माग राखेका थिए ।
यसकारण रानीसैनामा उत्पन्न भएको थियो विवाद
बाजुराको हिमाली–३ लाम्पाटामा बाजुरा र हुम्लाका बासिन्दाबीच विवाद उत्पन्न भएको थियो । बाजुरा पक्षले लाम्पाटामा अस्थायी प्रहरी चौकी भवन निर्माण गर्न लाग्दा हुम्लाको खार्पूनाथ गाउँपालिका–२ थालीका स्थानीयले विरोध गर्दै निर्माण सामग्री नष्ट गरेका थिए । यस्तै हिमाली–३ का वडा सदस्य पेमा गारा गुरुङमाथि कुटपिट गर्नुका साथै उनको घर तोडफोड र धनमाल नष्ट गरेका थिए । त्यसक्रममा हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापासहित अन्य पाँच जनासमेत घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि हेलिकोप्टरबाट उद्धार गरिएको थियो ।
त्यसक्रममा ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउछौं’ भन्ने अभियानअन्तर्गत पर्यटन प्रवर्द्धनका लागि साइपाल हिमालको पूर्वी बेसक्याम्प रहेको बाजुरास्थित पर्यटकीय क्षेत्र रानीसैनतर्फ जाने क्रममा धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालसहितको टोलीमाथि पनि खार्पूनाथका स्थानीयले अवरोध गरेका थिए ।
बाजुराको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लसहितको टोलीसमेत लखेटिएको गाउँपालिकाले जनाएको छ । त्यसपछि विवाद बल्झिएको थियो ।
हुम्ला र बाजुराको सिमानामा किन भयो झडप ?
बाजुराका चार पालिकाद्वारा रानीसैन घटनाका दोषीमाथि कारबाहीको माग
