प्रदेशको समृद्धिकालागि ‘सुदूरपश्चिम कचहरी’: नीतिगत सुधारमा जोड

प्रदेशको विकास, नीतिगत सुधार र आर्थिक समृद्धिको मार्गचित्र तय गर्न शनिबार र आइतबार धनगढीमा कचहरी भइरहेकाे हो ।

जेष्ठ २, २०८३

रञ्जना बिसी

'Far West Court' for the prosperity of the province: Emphasis on policy reforms

कैलाली — सुदूरपश्चिमप्रदेश राजधानी धनगढीमा ‘सुदूरपश्चिम कचहरी २०८३’ को औपचारिक सुरुवात भएकोछ ।

प्रदेशको विकास, नीतिगत सुधार र आर्थिक समृद्धिको मार्गचित्र तय गर्न शनिबारबाट धनगढीमा कचहरी सुरु भएको हो । कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सुदूरुपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा विद्यमान अपार सम्भावनाको सही सदुपयोग गर्दै समृद्धिको ढोका खोल्नुपर्नेबताए ।

उनले यस कचहरीले प्रदेश र संघीय सरकारलाई विकासको सही मार्ग पहिल्याउन र नीतिगत सुधारका लागि ठोस सुझाव दिने विश्वास व्यक्त गरेका थिए । दुईदिनसम्म चल्ने छलफलले सरकारका आगामी नीति तथा कार्यक्रमलाई समृद्धितर्फ केन्द्रित गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

‘सुदूरपश्चिममा अपार सम्भावना छन्। ती सबै सम्भावनालाई यो कार्यक्रमले नीतिगत रूपमा समृद्धितर्फ केन्द्रित बनाउने विश्वास लिएको छु,’ मुख्यमन्त्री शाहले भने, ‘दुई दिनको छलफल र त्यसको निष्कर्षले सरकारलाई नीतिगत सुधारका सुझावहरू पनि दिने विश्वास लिएको छु ।’

सोही अवसरमा पूर्वमुख्यमन्त्री तथा एमाले प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सुदूरपश्चिममा पर्याप्त स्रोत र साधन हुँदाहुँदै पनि अपेक्षित विकास हुन नसकेको बताए । यस्ता बहसले प्रदेशको सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्‌याउन मद्दत गर्ने धारणा राखे ।

पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य नरेश शाहीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै सुदूरपश्चिमको स्वाभिमान झल्काउने रशिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा पूर्वाधार लगायतका क्षेत्रमा साझा विकास दृष्टिकोण तयार गरिने जानकारी दिए । उनका अनुसार कचहरीबाट प्राप्त निष्कर्ष र सुझावहरूलाई आगामी बजेट तथा नीति निर्माण प्रक्रियामा समावेश गराउन केन्द्र सरकारसमक्ष पठाइनेछ ।

कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरुलाई बोलाइएको छ । भारतको कुमाउँ विश्वविद्यालयका प्राध्यापक डा. रितेश शाहले सुदूरपश्चिमका सम्भावनाहरूको प्रचारप्रसारमा आफूहरूले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।
यस्तै आयोजक सुदूरपश्चिम विकास फाउन्डेसनका अध्यक्ष शेरबहादुर शाहीले संवादमार्फत नीतिगत सुधारको पहल हुनुपर्नेमा जोड दिँदै विकासका लागि स्पष्ट दृष्टि र साझा उत्तरदायित्वको आवश्यकता औंल्याएका थिए । प्रदेश नीति तथा योजना आयोगकी उपाध्यक्ष डा. जीवनरानाले कार्यक्रममा प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाबारे जानकारी गराएकी थिइन् ।

रञ्जना

Link copied successfully