हावाहुरी र असिनापानीले डोटीको चनुकाँडामा ठूलो क्षति, विद्यालय भवनका छाना उडे

हावाहुरीका कारण एक विद्यालय भवनसहित दर्जनौं घरमा क्षति पुगेको स्थानीयले बताएका छन् ।

वैशाख ३१, २०८३

मोहन पनेरु

Wind and hailstorm cause extensive damage in Chanukanda, Doti, roofs of school buildings blown off

डोटी — बोगटान फुड्सिल गाउँपालिका–७ चनुकाँडामा बुधबार राति आएको हावाहुरीसहितको असिनापानीले ठूलो भौतिक क्षति पुर्‍याएको छ । हावाहुरीका कारण एक विद्यालय भवनसहित दर्जनौं घरमा क्षति पुगेको स्थानीयले बताएका छन् ।

हावाहुरीले स्थानीय ‘चनुकाँडा आधारभूत विद्यालय’ का दुई वटा भवनको छाना उडाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेश बमले जानकारी दिए । उनका अनुसार प्रशासनिक कक्ष रहेको भवन तथा कम्प्युटर कक्ष रहेको भवनको छाना पूर्ण रूपमा उडेको हो ।

अध्यक्ष बमका अनुसार ‘प्रशासनिक भवनको छाना उड्दा विद्यालयका महत्त्वपूर्ण कागजातमा क्षति पुगेको छ भने धेरै किताबसमेत नष्ट भएका छन् । कम्प्युटर कक्षमा रहेका कम्प्युटर, प्रिन्टर तथा फर्निचरमासमेत क्षति पुगेको छ,’ उनले भने । हावाहुरीले विद्यालयका छाना सयौं मिटर टाढासम्म उडाएर लगेको उनको भनाइ छ ।

गाउँका अधिकांश घरमा पनि क्षति पुगेको स्थानीयले बताएका छन् । ‘टिनले छाएका धेरैजसो घरका छाना उडेका छन् भने खर र पत्थरले छाएका घरहरू पनि प्रभावित भएका छन् । छाना उडेपछि परेको असिनापानीले थप क्षति पुर्‍याएको छ,’ अध्यक्ष बमले बताए । भौतिक क्षति निकै ठूलो भए पनि मानवीय क्षति भने नभएको उनको भनाइ छ । 

मोहन

Link copied successfully