प्रअलाई दुर्व्यवहार गरेको आरोपमा चार जना पक्राउ

विद्यालय शिक्षक परीक्षामा असफल भएपछि प्रधानाध्यापकलाई अमानवीय व्यवहार गरेको आरोपमा एकै परिवारका चार सदस्य पक्राउ परेका छन्, अनुसन्धान जारी छ।

वैशाख २६, २०८३

मोहन चन्द

Four arrested for abusing the principal

What you should know

बैतडी — विद्यालय शिक्षकको परीक्षामा फेल गरेको भन्दै प्रधानाध्यापकमाथि दुर्व्यवहार गरेको आरोपमा एकै परिवारका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।  

शिवनाथ गाउँपालिका–४ स्थित पिपलकोट माध्यमिक विद्यालय लोजनीका प्रधानाध्यापक दामोदर ओझामाथि बिहीबार दिउँसो एक महिलामाथि दुर्व्यवहार गरेको आरोप लगाउँदै आफन्तहरुले अमानवीय व्यवहार गरेका थिए । 

प्रअमाथि दुर्व्यवहार गरेको आरोपमा शुक्रबार शिवनाथ गाउँपालिका–४ खडिक बस्ने ३७ वर्षीय तारा महता उनका श्रीमान् ४२ वर्षीय प्रेम महता, ४२ वर्षीय मोहन महता र ३४ वर्षीय सकुन्तला महतालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताए । चारै जनालाई ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता बडूले बताए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष भरतसिंह साउँदका अनुसार प्रअ ओझामाथि दुर्व्यवहार भएको सामाजिक सञ्जालबाट बाहिरिएपछि प्रहरीले यो घटनामा चासो देखाएको थियो ।

घटना के हो ?
पिपलकोट माविमा एक जना प्राथमिक तहको शिक्षक भर्नाका लागि गत वर्ष चैत २६ मा विद्यालयले आवदेन आह्वान गरेकोमा १७ जनाले आवेदन दिएका थिए । परीक्षामा तारा महतासहित १४ जना सहभागी भएका थिए।

वैशाख १३ मा गाउँपालिका केन्द्र सुल्लेखानमा भएको परीक्षामा तारा अनुत्तीर्ण भएकी थिइन् । ‘परीक्षा हुनुअघि ताराका श्रीमान्ले श्रीमतीलाई उत्तीर्ण गराई दिए विद्यालयलाई दुई लाख आर्थिक सहयोग र परीक्षा खर्च ५० हजार बेहोरिदिने भनी तेस्रो पक्षबाट मलाई कुरा पुगेको थियो,’ व्यवस्थापन समिति अध्यक्ष साउँदले भने, ‘आफूले यस्तोमा कसैको सहयोग चाहिँदैन भनेर परीक्षा निष्पक्ष गराएको हुँ ।’ 

महिलामाथि दुर्व्यवहार गरेको भन्दै बिहीबार ताराका आफन्त विद्यालयमा आएपछि व्यवस्थापन समितिले प्रअ र आरोप लगाउने पक्षबीच छलफल गराएको  थियो । आरोप लगाउने पक्षले प्रअले राजीनामा दिनुपर्ने र सार्वजनिक रुपमा माफी माग्नुपर्ने भने बमोजिम नै प्रअ ओझाले स्वीकारेको अध्यक्ष साउँदले बताए । विद्यालयको गेट बाहिर गएर माफी माग्नुपर्ने भन्दै आरोपित पक्षले प्रअलाई बाहिर लगेर दुर्व्यवहार गरेको उनले बताए । 

प्रअ ओझाले पेपरको मोडल बताइदिने भनी पटकपटक फोन गरी विदाको दिन विद्यालयमा बोलाएर श्रीमतीमाथि परीक्षाको एक दिन अगाडि दुर्व्यवहार गरेको ताराका श्रीमान् प्रेम महताको आरोप छ । ‘म जागिरमा भारतमा थिए । मेरो श्रीमतीमाथि दुर्व्यवहार भएको थाहा भएपछि घर आएको हुँ,’ उनले भने, ‘ठूलो भीड थियो । भीडमा कसले दुर्व्यवहार गर्‍यो थाहा पाएन ।’

आफुले कसैलाई दुर्व्यवहार नगरेको र परीक्षामा अनुत्तीर्ण भएको रिसले आफुलाई आरोप लगाएको प्रअ ओझाले बताए । उनीहरुले खाली आरोप लगाएपछि विव्यस अध्यक्षकै अगाडि कार्यालयमै आफुले माफी समेत मागेको उनले बताए । ‘माफी मागेर घर जान लाग्दा गेट बाहिर पुग्ने बित्तिकै उनीहरुले मलाई एक/दुई झापड लगाएर अमानवीय व्यवहार गरे,’ प्रअ ओझाले भने, ‘विव्यस अध्यक्ष साउँदले मात्र बचाएको हो ।’

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully