बैतडीको पञ्चेश्वरमा सुकुमवासीलाई लालपुर्जा दिइँदै 

गाउँपालिकाले प्रमाणीकरण गरेका ५९ जना सुकुमवासीमध्ये पहिलो चरणमा २० जनालाई लालपुर्जा वितरण गर्ने तयारी गरिसकेको भूमि समस्या समाधान आयोग जिल्ला समिति बैतडीका अध्यक्ष रमेश पाण्डेयले जानकारी दिए ।

वैशाख २०, २०८३

मोहन चन्द

Landlords are being given land titles in Pancheshwor, Baitadi

बैतडी — भूमि समस्या समाधान आयोग जिल्ला समिति बैतडीले पञ्चेश्वर गाउँपालिकाका २० जना सुकुमवासीलाई लालपुर्जा वितरण दिने तयारी गरेको छ ।

गाउँपालिकाले प्रमाणीकरण गरेका ५९ जना सुकुमवासीमध्ये पहिलो चरणमा २० जनालाई लालपुर्जा वितरण गर्ने तयारी गरिसकेको भूमि समस्या समाधान आयोग जिल्ला समिति बैतडीका अध्यक्ष रमेश पाण्डेयले जानकारी दिए । 

‘सातदिने सूचनामा कसैले पनि हकदाबी नगरेपछि भूमिहीन सुकुमवासी भनिएकाहरुको तिनपुस्ते विवरण मालपोत कार्यालयमा बुझाइने छ,’ उनले भने, ‘तीन पुस्ते बुझाइएकाहरुको नाममा कुनै ठाउामा जग्गा/जमीन नभएको एकीन गरेर मात्र वितरण गरिने छ ।’ 

भूमिहीन सुकुमवासीहरुलाई जग्गा उपलब्ध गराउनका लागि जग्गाको हकदाबी पेश गर्न सात दिने सूचना प्रकाशित गरिसकेको छ । गाउँपालिका संगको समन्वयमा प्रमाणीकरण गरिएका भूमिहीन दलित र भूमिहीन सुकुमवासीका लागि नापजाँच गरिएको जग्गा उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुगीसकेको अध्यक्ष पाण्डेयले बताए । 

जिल्लाको पञ्चेश्वर गाउँपालिका बाहेक अन्य स्थानीय तहहरुले प्रमाणीकरणको काम अगाडि नबढाएकाले पुर्जा वितरणको प्रक्रिया सुरु हुन नसकेको आयोगले जनाएको छ । सरकारले अतिक्रमित सरकारी जग्गा खाली गर्ने भनी गरिएको परिपत्र अनुसार गाउँपालिकाले छानविन गरिरहेको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।

पञ्चेश्वरमा मात्रै ५९ जना भूमिहीन परिवार रहेका छन् भने चार सयको हराहारीमा अव्यवस्थित बसोबासी रहेका छन् । जिल्लामा ३ हजार बढीभूमीहिन दलित, भूमीहिन सुकुमवासी र अव्यवस्थित बसोबासीले आवेदन दर्ता गराएका छन् ।

सरकारले अतिक्रमित सरकारी जग्गा खाली गर्ने भनी गरिएको परिपत्र अनुसार गाउँपालिकाले छानबिन गरिरहेको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully