९ वर्षीय बालकलाई स्थानीय ३६ वर्षीय भोज नाथले काक्रा चोरेको आरोपमा हातखुट्टा बाँधेर निर्घात कुटपिट गरेका हुन् ।
What you should know
कञ्चनपुर — एक नाबालकको हात र दुवै खुट्टा बाँधिएका छन् । मनिसहरुको भीडको बीचमा उनीमाथि निर्घात कुटपिट पनि भएको छ ।
वरिपरि भेला भएकाहरु होहल्ला गरिरहेका छन् । बिहीबार दिउँसो सामाजिक सञ्जालमा भाइरल भएको यो भिडियो कञ्चनपुरको बेदकोट नगरपालिका–५ पोल्खरीको हो ।
जहाँ ९ वर्षीय बालकलाई स्थानीय ३६ वर्षीय भोज नाथले काक्रा चोरेको आरोपमा हातखुट्टा बाँधेर निर्घात कुटपिट गरेका हुन् । घटना बुधबार दिउँसोको हो । पोल्खरीस्थित चौधर नदीको बगरमा गाईबस्तु चराउन र क्रिकेट खेल्नका लागि ती बालक साथीहरुसँगै गएका थिए ।
क्रिकेट खेल्ने क्रममा बल चौधर नदीमा गयो । उक्त बल लिन आफ्नो काक्राको बारी हुँदै गइरहेको देखेपछि नाथले बालकलाई नियन्त्रणमा लिएर घर लगे । घरमा हात र खुट्टा बाँधेर कुटपिट गरेका हुन् ।
‘नाबालकको दुवै हात पछाडितिर र दुवै खुट्टा डोरीले बाँधेर भुइमा लडाएर ढुंगा, लठ्ठी र लातमुक्काले रगक्ताम्य हुने गरी बेहोस बनाइ यसलाई मार्नुपर्छ भनि घरमा बाँधेको कुकुर फुकालेर टोकाएको छ,’ घाइते बालककी हजुर आमा नन्दा मेहताले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा दिएको जाहेरीमा उल्लेख छ, ‘त्यसपछि बालकलाई घाइते अवस्थामा स्थानीयले उद्धार गरेका हुन् ।’
पीडित परिवारले नाथबिरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दिएका छन् । बेदकोट–३ दैजी घरभएका बालकका आमाबुवा रोजगारीका लागि भारतमा छन् । ती बालक पोल्खरीस्थित मामा घरमा बस्दै आएका छन् । मामा घरकी हजुरआमाले नै उनको रेखदेख गर्दै आएकी छिन् ।
घाइते बालकलाई महाकाली प्रादेशिक अस्पतालमा उपचारपछि आफन्तको जिम्मा लगाएको जिल्ला प्रहरी कञ्चनपुरका एसपी खडकबहादुर खत्रीले बताए । एसपी खत्रीका अनु्सार बालकमाथि अमानवीय व्यवहार गर्ने नाथलाई नियन्त्रण लिएर अदालतबाट ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको बताए ।
