रक्तसञ्चार केन्द्र सञ्चालनमा आए पनि दिगो व्यवस्थापनमा चुनौती रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तोरन अवस्थीले बताए । केन्द्रमा अझै पनि आवश्यक उपकरण अभाव छन् ।
दार्चुला — जिल्ला अस्पताल दार्चुलामा १० वर्षअघि स्थापना भएको रक्तसञ्चार केन्द्र सञ्चालनमा आएको छ । आइतबार आयोजित कार्यक्रमबीच प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले केन्द्रको उद्घाटन गरेका हुन् ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको अगुवाइमा २०७३ मा स्थापना भएको केन्द्र आइबारदेखि सञ्चालनमा आएको जिल्ला अस्पतालका डा. रविद्र भट्टराईले बताए । उक्त केन्द्र जिल्ला अस्पतालको समन्वयमा सञ्चालन हुनेछ ।
रेडक्रस सोसाइटी दार्चुलाका सभापति गोपालसिंह महराका अनुसार केन्द्र सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश सरकार, निजामती कर्मचारी, सुरक्षा निकाय तथा विभिन्न संघ–संस्थाबाट आर्थिक तथा भौतिक सहयोग उपलब्ध भएको थियो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य ठगुन्नाले रक्तसञ्चार केन्द्रलाई नियमित, व्यवस्थित र दिगो रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए । आवश्यक उपकरण तथा सामाग्रीका लागि केन्द्र र प्रदेश सरकारमार्फत सहयोग गर्न तयार रहेको उनले बताए ।
केन्द्र सञ्चालनमा आए पनि यसको दिगो व्यवस्थापनमा चुनौती रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तोरन अवस्थीले बताए । केन्द्रमा अझै पनि आवश्यक उपकरण अभाव छन् ।
