दुम्लिङ र काठादुम्लिङबीचमा बग्ने घट्टेखोलामा निर्माण हुने झोलुङ्गे पुलको मंगलबार शिलान्यास गर्दै साम्पाङले बुधबार एक दिन श्रमदान पनि गरे ।
What you should know
दार्चुला — श्रमदानमार्फत पुल निर्माण गर्ने भन्दै दार्चुला पुगेका प्रतिनिधिसभा सदस्य एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई अर्थात् हर्क सामपाङले ब्यास गाउँपालिका–२ दुम्लिङमा झोलुङ्गे पुलको शिलान्यास गरेका छन् ।
दुम्लिङ र काठादुम्लिङबीचमा बग्ने घट्टेखोलामा निर्माण हुने झोलुङ्गे पुलको मंगलबार शिलान्यास गर्दै साम्पाङले बुधबार एक दिन श्रमदान पनि गरे । कुनै पनि सरकारी निकायको पैसा खर्च नगरीकनै सहयोग संकलन र श्रमदानमार्फत उक्त पुल निर्माण गरिने उनले बताए ।
स्थानीय मकरसिंह बुढाथोकीका अनुसार दुम्लिङ र काठादुम्लिङबीचको घट्टेखोलामा सात वर्षअगाडि बाढी आएर जमिन कटान गर्दा उक्त ठाउँको काठेपुल बगाएको थियो । हिउँदे र सुक्खा सिजनमा काठेपुल बनाएर ओहोरदोहोर गर्ने गरेको र वर्षाको समयमा करिब तीन किलोमिटर तल हिँडेर पुल तर्नुपर्ने बाध्यता रहेको उनले सुनाए ।
स्थानीयको मागका आधारमा दुम्लिङमा झोलुङ्गे पुल निर्माण गर्न लागत इस्टिमेटसहितको विस्तृत अध्ययन प्रतिवेदन तयार भएको छ । ६५ मिटर लम्बाइ र १३ मिटर उचाइको झोलुङ्गे पुल निर्माण हुँदैछ । यस पुलको लागत ४८ लाख ६५ हजार रुपैयाँ रहेको अनुमान गरिएको छ ।
वर्षातको समयमा खोला तर्न नसक्दा विद्यार्थी विद्यालय जानबाट वञ्चित हुने गरेका कारण सो खोलामा पुल निर्माण गरिदिन साम्पाङको टोलीलाई आग्रह गरेको ब्यास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णानन्द बडूले बताए ।
राज्यबाट दूर रहेका दुम्लिङजस्ता दुर्गम बस्तीमा श्रमदानमार्फत पुल निर्माणका लागि प्रतिनिधिसभा सदस्य साम्पाङ आफैं गाउँमा आएर श्रमदान सुरु गरेपछि यहाँका स्थानीय खुसी छन् । महेन्द्र बुढाथोकीले विद्यार्थी हिँड्ने, यार्चागुम्बा टिप्न जाने मूलबाटो तथा काठा दुम्लिङ, गोठान र कल्जु गाउँ जोड्ने गरी झोलुङ्गे पुल निर्माण हुन लागेको बताए । पुल निर्माणमा आफूहरू श्रमदान गर्न तयार रहेको पनि उनले सुनाए ।
दुम्लिङबासीलाई नेपाल–भारत सीमामा झोलुङ्गे पुल आवश्यक रहेको रतनसिह बुढाथोकीले बताए । नेपालबाट सो गाउँसम्म सडकको पहुँच नपुगेकाले भारतमा भर पर्नुपरेको छ । दैनिक उपभोग्य सामानलगायत अत्यावश्यक सेवा भारतबाट पूर्ति गर्नुपरेको उनको भनाइ छ । सरकारले दार्चुला–तिङ्कर सडक निर्माण गरिरहेको छ । २ नम्बर वडाको राङथलसम्म सडकको ट्याक खुलेको भए पनि दुम्लिङगाउँसम्म पुग्न अझै अढाइ किलोमिटर सडक निर्माण गर्न बाँकी रहेको छ ।
