आर्थिक गणनाका लागि डडेल्धुरामा १७ जना गणक

जिल्ला आर्थिक गणना अधिकारी कर्णबहादुर क्षेत्रीले देशभरकै कार्यक्रमअनुसार डडेल्धुरामा पनि वैशाख २ देखि असार ७ गतेसम्म आर्थिक गणना सञ्चालन गरिने बताए ।

चैत्र १८, २०८२

तर्कराज भट्ट

17 enumerators in Dadeldhura for economic census

What you should know

डडेल्धुरा —  

आगामी वैशाख २ गतेदेखि देशैभर आर्थिक गणना सुरु हुने भएको छ । आर्थिक गणनाअन्तर्गत डडेल्धुरामा १७ जना गणक र तीन जना सुपरिवेक्षक खटिने व्यवस्था मिलाइएको हो । 

बुधबार जिल्ला सदरमुकाममा आयोजित ‘अर्थतन्त्रको मापनका लागि आर्थिक गणना’सम्बन्धी जिल्लास्तरीय सचेतना गोष्ठीमार्फत जिल्ला आर्थिक गणना कार्यालय डडेल्धुराले उक्त जानकारी गराएको हो । 

जिल्ला आर्थिक गणना अधिकारी कर्णबहादुर क्षेत्रीले देशभरकै कार्यक्रमअनुसार डडेल्धुरामा पनि वैशाख २ देखि असार ७ गतेसम्म आर्थिक गणना सञ्चालन गरिने बताए । उनका अनुसार जिल्लाभर सञ्चालनमा रहेका उद्योग, व्यापारिक प्रतिष्ठान, सामान्य पान पसल, चियापसल, होटलदेखि लिएर साना–ठूला सबै प्रकारका आर्थिक क्रियाकलापको गणना गरिनेछ । 

‘जिल्लामा जहाँ जहाँ आर्थिक गतिविधि सञ्चालन भइरहेका छन्, ती सबै क्षेत्र यस गणनामा समेटिनेछन्,’ क्षेत्रीले भने, ‘वस्तु उत्पादन गर्ने र सेवा प्रदान गर्ने सबै प्रकारका क्रियाकलापहरूको तथ्यांक संकलन गरिनेछ, जसले राज्यलाई नीति निर्माण तथा योजना तर्जुमामा महत्त्वपूर्ण सहयोग पुर्‍याउनेछ ।’

उनका अनुसार आर्थिक गणनाबाट जिल्लाका पालिका तथा वडास्तरमा रहेका प्रतिष्ठानहरूको संख्या, तिनको अवस्था, रोजगारीमा संलग्न जनशक्ति, वैधानिकता लगायतका महत्त्वपूर्ण सूचना प्राप्त हुनेछन् ।

जिल्लामा खटिने गणक तथा सुपरिवेक्षकका लागि चैत २६ देखि ३० गतेसम्म तालिम सञ्चालन गरिनेछ । वैशाख २ गतेदेखि उनीहरू फिल्डमा खटिने कार्यक्रम रहेको छ । कार्यालयका अनुसार अमरगढी नगरपालिकामा ६ जना, परशुराम नगरपालिकामा ४ जना, आलिताल र नवदुर्गा गाउँपालिकामा दुई–दुई जना तथा भागेश्वर, गन्यापधुरा र अजयमेरु गाउँपालिकामा एक–एक जना गणक खटिनेछन् । 

आर्थिक गणनाको नतिजा आगामी आर्थिक वर्ष २०८३/८४ भित्रै सार्वजनिक गरिनेछ ।

तर्कराज

Link copied successfully