दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्तरोन्नतिबारे शिक्षामन्त्री र सांसदबीच छलफल

रास्वपा सांसद केपी खनालले भने- 'विश्वविद्यालयको स्तरोन्नति र आगामी कार्ययोजनाका बारेमा विशेष छलफल भएको छ । अस्पतालको क्षमता बिस्तार गरी हाल १०० बेडमा सञ्चालनमा रहेकोलाई ३०० बेडमा बिस्तार गरी सेवालाई थप प्रभावकारी बनाउनेबारे शिक्षामन्त्रीसँग छलफल भयो ।'

चैत्र १४, २०८२

कान्तिपुर संवाददाता

Education Minister and MPs discuss upgrading Dasharath Chand University of Health Sciences

काठमाडौँ — कैलालीको गेटास्थित दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्तरोन्नति एवं आगामी योजनाबारे शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल र कैलाली- २ बाट निर्वाचित रास्वपा सांसद केपी खनालबीच छलफल भएको छ । शनिबार सिंहदरबारमा भएको छलफलमा दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार लगायतका अधिकारी पनि संलग्न थिए ।

अस्पतालको क्षमता वृद्धि लगायतका विषयमा छलफल भएको सांसद खनालले जानकारी दिए । 'विश्वविद्यालयको स्तरोन्नति र आगामी कार्ययोजनाका बारेमा विशेष छलफल भएको छ । अस्पतालको क्षमता विस्तार गरी हाल १०० बेडमा सञ्चालनमा रहेकोलाई  ३०० बेडमा बिस्तार गरी सेवालाई थप प्रभावकारी बनाउनेबारे छलफल भयो,' खनालले भने । 

त्यस्तै, नयाँ शैक्षिक कार्यक्रमहरूको सुरुवात कसरी गर्ने र आवश्यक स्रोत सम्बन्धमा पनि छलफल भएको छ । आवश्यक आर्थिक स्रोत २ अर्ब ५८ करोडको सुनिश्चितता गरी आगामी शैक्षिक सत्रदेखि एमबीबीएस ५० सिट, नर्सिङ ३० सिट, बीएस्सी एमएलटी २० सिट र नेत्र विज्ञानका २० सिट सञ्चालन गर्नेबारे पहल गरिएको उनको भनाइ छ । 

विश्वविद्यालयलाई चालु आर्थिक वर्षमा प्राप्त बजेट कार्यान्वयनको लागि पनि पहल गरिएको सांसद खनालको भनाइ छ । विश्वविद्यालयका लागि स्वीकृत भएको ४३ करोड बजेट सिनेट बैठक बस्न नसक्दा रोकिएको जानकारी शिक्षामन्त्रीलाई गराइएको थियो ।यथाशीघ्र सिनेट बैठक आयोजना गरेर उक्त बजेटलाई परिचालन गरिनेबारे छलफल भएको बताइएको छ । 

कान्तिपुर

Link copied successfully