फागु पूर्णिमाका दिनदेखि सुरु भएकाे पूर्णागिरी मेलाले यहाँ रहेको सिद्धबाबाको मन्दिरमा दर्शनार्थीको घुँइचो लाग्ने गरेको छ ।
What you should know
कञ्चनपुर — भीमदत्त नगरपालिका–९ स्थित ब्रहृमदेव बजार केही दिनयता गुल्जार बनेको छ । महाकाली नदी किनारमा रहेको सीमान्त बजारमा केही दिनयता पूर्णागिरी मेलाका कारण चहलपहल बढेको हो।
फागु पूर्णिमाका दिनदेखि सुरु हुने पूर्णागिरी मेलाले यहाँ रहेको सिद्धबाबाको मन्दिरमा दर्शनार्थीको घुँइचो लाग्ने गरेको छ । त्यहीँ कारण यहाँको बजारमा पनि भीडभाड हुने गरेको हो । अहिले नवरात्रीको समय भएका कारण पनि यहाँ दर्शनार्थीको भीडभाड बढेको छ ।
‘पूर्णागिरी मेलाले चहलपहल त बढाएको छ,’ ब्रहृमदेवका व्यवसायी मोहनदेव पन्तले भने, ‘तर विगतको भन्दा भीडभाड भने कम छ, व्यापार व्यवसाय पनि खासै छैन ।’ उनका अनुसार पूर्णागिरी मेलामा आउने दर्शनार्थीको संख्या दिनप्रतिदिन घट्दै गएको छ । जसका कारण मेलाकै भरमा चल्ने सीमान्त बजारको व्यवसाय पनि घट्दो अवस्थामा छ ।
भारत उत्तराखण्डको चम्पावत जिल्लामा पर्ने चुरे पहाडमा रहेको पूर्णागिरीको मन्दिरमा दर्शन गरेपछि नेपालतर्फ ब्रहृमदेव वा महेन्द्रनगरमा रहेको सिद्धबाबाको दर्शनपछि मात्रै मनोकामना पूरा हुने किंवदन्ती रहेको छ । त्यहीँ मान्यता अनुसार दर्शनार्थीहरु पूर्णागिरीसँगै सिद्धबाबाको मन्दिरमा पुग्ने गर्छन् ।
पूर्णागिरी मेलामा खासगरी भारतको उत्तर प्रदेश, उत्तराखण्ड, दिल्लीलगायतका प्रदेशबाट दर्शनार्थी आउने गरेका छन् । नेपालबाट पनि सुदूरपश्चिम, लुम्बिनी र कर्णालीलगायत क्षेत्रबाट दर्शनार्थी पुग्ने गरेका छन् । नेपालबाट न्यून मात्रामा दर्शनार्थी आउने भए पनि भारतबाट भने एकै दिन हजारौंको संख्यामा दर्शनार्थी पुग्ने गरेका छन् ।
यतिबेला ब्रहृमदेवसँगै महेन्द्रनगर बजारमा पनि चहलपहल बढेको छ । अहिले चैतै दसैंको समय भएकाले पनि दर्शनार्थीको भीड बढेको हो । भारत उत्तर प्रदेशको लखीमपूरका श्याम सिंहले हरेक वर्ष गाउँका धेरै जना यो मेलामा आउने गरेको बताए ।
फागु पूर्णिमादेखि सुरु हुने मेला असारसम्मै चल्ने गरेको छ । चैते दसैंको नवरात्रीका बेला बढी भाडभाड हुन्छ । उसो त पूर्णागिरी र सिद्धबाबामा दर्शनार्थीहरु बाह्रै महिना आउने गरेका छन् ।
