विद्युत् प्राधिकरणले भने हावाहुरीका कारण ३३ केभी विद्युत् लाइन आपूर्तिमा समस्या देखिएको जनाएको छ ।
कञ्चनपुर — कञ्चनपुरका अधिकांश क्षेत्रमा पछिल्ला केही दिनयता विद्युत् सेवा बारम्बार अवरुद्ध हुने गरेको छ । विद्युत् आपूर्ति अनियमित हुँदा सर्वसाधारणदेखि व्यवसायीसम्मको दैनिकी प्रभावित बन्ने गरेको छ ।
विद्युत् अवरुद्ध हुँदा घरायसी कामकाजमा समस्या उत्पन्न हुनुका साथै विद्यार्थीको अध्ययन प्रभावित भएको स्थानीय देवकी बिष्टले गुनासो गरिन् । साँझबिहानको समयमा बिजुली नहुँदा खाना पकाउने, पानी तान्ने, मोबाइल तथा विद्युतीय उपकरण चार्ज गर्ने जस्ता आधारभूत काममै कठिनाइ हुने गरेको उनले बताइन् ।
यस्तै, साना तथा मझौला उद्योग व्यवसायमा उत्पादन घट्नुका साथै सेवा क्षेत्रमा समेत असर परेको व्यवसायी बताउँछन् । बारम्बार हुने विद्युत् कटौतीका कारण इन्टरनेट सेवा अवरुद्ध भई अनलाइन काम, बैंकिङ सेवा र सञ्चारमा समेत समस्या देखिएको छ ।
विद्युत् प्राधिकरणले भने हावाहुरीका कारण ३३ केभी विद्युत् लाइन आपूर्तिमा समस्या देखिएको जनाएको छ । तीव्र हावाहुरीका कारण रुखका हाँगा लाइनमा खस्ने, पोल तथा तारमा क्षति पुग्ने जस्ता समस्याले आपूर्ति प्रभावित हुने गरेको प्राधिकरणको भनाइ छ ।
यद्यपि, विद्युत् आपूर्तिमा समस्या बढ्दै गए पनि प्राधिकरणले यथाशीघ्र समाधानका लागि लाइन पेट्रोलिङ कार्यमा मर्मत टोली परिचालन गर्दै आएको दाबी गरेको छ । प्रभावित क्षेत्रमा क्षतिको विवरण संकलन गरी आवश्यक मर्मत तथा व्यवस्थापन कार्य अघि बढाइएको प्राधिकरणले जनाएको छ ।
समस्याको दीर्घकालीन रूपमा समाधान गर्न विद्युत् पूर्वाधार सुदृढीकरण, पुराना पोल तथा तारको समयमै मर्मत सम्भार, जोखिमयुक्त क्षेत्रमा रुख व्यवस्थापन तथा भूमिगत लाइन विस्तार जस्ता उपाय आवश्यक रहेको सरोकारवालाको सुझाव छ ।
