कार्यक्रममा क्षयरोग पहिचान, परीक्षण र उपचार अत्यन्त महत्त्वपूर्ण हुने विषयमा विस्तृत अन्तरक्रिया गरिएको थियो । स्वास्थ्यकर्मीहरूले रोगका लक्षण, जोखिम समूह र रोकथामका उपायबारे सहभागीलाई जानकारी गराउँदै सचेतना अभिवृद्धि गरेका थिए ।
What you should know
डडेल्धुरा — विश्व क्षयरोग दिवसको अवसरमा डडेल्धुरामा समुदायस्तरसम्म पुग्ने गरी सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ । स्वास्थ्य कार्यालय डडेल्धुराको आयोजनामा परशुराम नगरपालिकामा सम्पन्न कार्यक्रममा क्षयरोग न्यूनीकरण तथा अन्त्यका लागि सामूहिक पहल आवश्यक रहेकामा जोड दिइएको छ ।
‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं, राष्टि्रय अभियान हाम्रो योगदान’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा गाउँ–टोलदेखि वडा र पालिकास्तरसम्म अभियानलाई विस्तार गर्ने लक्ष्य राखिएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक हरिप्रसाद भट्टले जानकारी दिए । उनका अनुसार क्षयरोग नियन्त्रणका लागि स्वास्थ्य संस्था मात्रै नभई समुदायको सक्रिय सहभागिता अपरिहार्य छ ।
कार्यक्रममा क्षयरोग पहिचान, परीक्षण र उपचार अत्यन्त महत्त्वपूर्ण हुने विषयमा विस्तृत अन्तरक्रिया गरिएको थियो । स्वास्थ्यकर्मीहरूले रोगका लक्षण, जोखिम समूह र रोकथामका उपायबारे सहभागीलाई जानकारी गराउँदै सचेतना अभिवृद्धि गरेका थिए ।
क्षयरोग लागेमा लामो समयसम्म खोकी लागिरहनु, छाती दुख्नु, साँझपख ज्वरो आउनु, खकारमा रगत देखिनु तथा तौल घट्दै जानु जस्ता लक्षण देखिन्छन् । यस्ता लक्षण देखिएमा ढिलाइ नगरी नजिकको स्वास्थ्य संस्थामा गई खकार परीक्षण गराउनुपर्ने स्वास्थ्य कार्यालयका प्रमुख केशरबहादुर साउदले बताए । ‘प्रारम्भिक अवस्थामै रोग पत्ता लागे उपचार प्रभावकारी हुन्छ,’ उनले भने ।
त्यस्तै, धुम्रपान गर्ने, लागू पदार्थ सेवन गर्ने तथा श्वासप्रश्वाससम्बन्धी दीर्घरोग भएका व्यक्ति क्षयरोगको उच्च जोखिममा रहने भएकाले यस्ता समूहलाई विशेष सतर्कता अपनाउन उनको आग्रह छ ।
कार्यक्रममा सहभागीहरूले जोखिम समूह पहिचान गरी लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता पनि औंल्याएका थिए । स्वास्थ्य कार्यालयका अनुसार क्षयरोग न्यूनीकरणका लागि हरेक वर्ष विश्व क्षयरोग दिवसको अवसरमा यस्ता कार्यक्रम सञ्चालन हुँदै आएका छन् । यस वर्षको कार्यक्रमले स्थानीय तहसम्म अभियान विस्तार गरी समुदायमा सचेतना बढाउने रहेको जनाइएको छ ।
परशुराम नगरपालिकामा आयोजित उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको सहभागिता रहेको थियो । सहभागीहरूले क्षयरोग अन्त्यका लागि व्यक्तिगत तथा सामूहिक जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए ।
