प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालको अध्यक्षतामा बसेको बैठकले चैतदेखि जेठसम्म तीन चरणमा अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
What you should know
डोटी — डोटीमा बढ्दो लागुऔषध प्रयोग र कारोबार नियन्त्रणका लागि तीन महिने विशेष अभियान सञ्चालन गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय डोटीको आयोजनामा सोमबार सरोकारवाला निकायहरूसँग बसेको समन्वय बैठकले यस्तो निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालको अध्यक्षतामा बसेको बैठकले चैतदेखि जेठसम्म तीन चरणमा अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
उनका अनुसार पहिलो चरणमा समुदायस्तरमा सचेतना अभिवृद्धिमा जोड दिइनेछ । यसअन्तर्गत समुदायमा अन्तरक्रिया, विद्यालयमा लागुऔषध रोकथामसम्बन्धी कक्षा, हस्ताक्षर अभियान तथा सहायता कक्ष स्थापना गरिने कार्यक्रम तय गरिएको छ ।
दोस्रो चरणमा लागुऔषध सम्बन्धी कसुरमा कानुनी कारवाहीलाई कडाइ गरिनेछ भने तेस्रो चरणमा दुर्व्यसनीहरूको पुनःस्थापना र सामुदायिक सहयोगमा विशेष ध्यान दिइनेछ ।
बैठकले जिल्लाका संवेदनशील क्षेत्रहरूलाई उच्च निगरानीमा राख्दै अवैध मदिरा तथा लागुऔषधको बिक्री–वितरण र सेवन नियन्त्रणका लागि सुरक्षा संयन्त्रलाई थप सक्रिय बनाउने निर्णय पनि गरेको छ । नियमित अनुगमन, निरीक्षण तथा जाँचलाई समेत कडाइ गरिने जनाइएको छ ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाउने र स्थानीय तहसँग सहकार्य गर्दै विद्यालय, क्याम्पस तथा समुदायमा युवालक्षित सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । साथै डायजेपाम, प्रिगाभालिन र ट्रामाडोलजस्ता औषधिको दुरुपयोग रोक्न बिक्री–वितरणमा कडाइ गर्ने निर्णय पनि गरिएको छ ।
अबदेखि चिकित्सकको प्रेस्क्रिप्सन बिना यस्ता औषधि बिक्री गर्न नपाइने तथा सबै मेडिकल र फार्मेसीहरूले अनिवार्य रूपमा अभिलेख राख्नुपर्ने व्यवस्था लागू गरिनेछ । यसका साथै सीमा नाका तथा जोखिम क्षेत्रहरूमा आकस्मिक निरीक्षण, ट्राफिक प्रहरीले लागुऔषध सेवनकर्ताको पहिचानका लागि जाँच कडाइ गर्ने तथा आवश्यक सामग्री स्वास्थ्य कार्यालयमार्फत उपलब्ध गराउने निर्णय गरिएको छ ।
बैठकमा सहभागी सरोकारवालाहरूले अभियान सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सक्रिय सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
