कैलाली- ५ मा कांग्रेस उम्मेदवार नरनारायण शाहले नेकपाका उम्मेदवार प्रेम आलेमगरले ५७ जना कांग्रेस नेता–कार्यकर्तालाई पैसा बाँडेको सूची आफूलाई दिएको बताएका थिए ।
What you should know
धनगढी — आइतबार साँझदेखि कैलालीमा एउटा भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भयो । उक्त भिडियो संवादमा हालै सम्पन्न निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार नरनारायण शाहले नेकपाका उम्मेदवार प्रेम आलेमगरले ५७ जना कांग्रेसका नेता–कार्यकर्तालाई पैसा बाँडेको सूची आफूलाई दिएको बताएका थिए । शाहको उक्त भनाइले कांग्रेसवृत्त मात्र होइन, सुदूरपश्चिमको राजनीतिक क्षेत्रमा सनसनी मच्चाएको छ ।
‘चुनावमा तेस्रो स्थानमा आउनु भएको थियो, उहाँले आएर मलाई एउटा लिस्ट नै दिनुभयो,’ संवादमा शाहले भनेका छन्, ‘तपाईंप्रति मेरो सद्भाव छ तर तपाईंका यी मान्छेले मबाट आर्थिक सहयोग लिनुभएको हो भनेर भन्नुभयो । सतर्क रहनु होला भन्नु भयो ।’ शाहले सूचीमा रहेका अधिकांश जिम्मेवार नेता–कार्यकर्ता एवं पार्टीको विभिन्न जिम्मेवारीमा रहेको बताएका थिए । तर उनले सूची भने सार्वजनिक गरेका छैनन् । उक्त भनाइपछि सूची सार्वजनिक गर्न शाहमाथि कांग्रेस कैलालीले दबाब बढाएको छ ।
यता नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार प्रेमबहादुर आलेले भने आफूले कसैलाई पैसा नबाँडेको दाबी गर्दै गलत प्रचार गरिएको बताएका छन् । शाहले गरेको दाबीमा कुनै सत्यता नभएको आलेको भनाइ छ । ‘कैलालीमा म पहिलोपटक चुनाव लडेको हुँ, कांग्रेसका कार्यकर्तासँग चिनजान नै छैन,’ आलेले भने, ‘मैले सूची बुझाएको रहेछु भने सार्वजनिक गर्न चुनौती दिन्छु ।’ कांग्रेस उम्मेदवार शाह पार्टीमा सुदूरपश्चिम प्रदेश महामन्त्रीसमेत हुन् ।
आफ्नै भनाइ विवादित भएपछि शाह भने चर्को दबाबमा परेका छन् । उनलाई नेपाली कांग्रेस कैलालीले समेत सोमबार एक विज्ञप्ती जारी गर्दै पैसा लिने नेता–कार्यकर्ताको सूची सार्वजनिक गर्न भनेको छ । ‘कांग्रेस नेता–कार्यकर्ताले नेकपाका उम्मेदवार प्रेमबहादुर आलेबाट आर्थिक लेनदेन गरेको आरोपले गम्भीर ध्यानाकर्षण भएको छ,’ कैलाली कांग्रेस सभापति नारायणदत्त भट्टले विज्ञप्तीमा भनेका छन्, ‘सो कुरा स्पष्ट पारी जिम्मेवारी निर्वाह गर्न अनुरोध गर्दछ ।’ शाहले भने थप प्रतिक्रिया दिएका छैनन् ।
कैलाली–५ मा ३१ हजार ९ सय ५३ मत पाएर रास्वपा उम्मेदवार आनन्दबहादुर चन्द विजयी भएका थिए । शाह ११ हजार ९ सय ५८ मतका साथ दोस्रो र आले ७ हजार ८ सय ७६ मत ल्याएर तेस्रो भएका थिए ।
