अमरगढी-५, का वडाध्यक्ष टंकबहादुर क्षेत्रीको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरिएको छ । समितिले चैत १४ गतेबाट हरेक शनिबार हाटबजार सञ्चालन गरिने जनाएको छ ।
What you should know
डडेलधुरा — जिल्लामा उत्पादित तरकारी र फलफूल बिक्री उद्देश्यले सदरमुकाममा हाटबजार सञ्चालन तयारी भएको भइरहेको छ । स्थानीय उत्पादन बिक्रीको सहज व्यवस्थाका लागि हाटबजार सुरू गर्न लागिएको हो ।
यसका लागि अमरगढी-५, का वडाध्यक्ष टंकबहादुर क्षेत्रीको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरिएको छ । समितिले चैत १४ बाट हरेक शनिबार हाटबजार सञ्चालन गरिने जनाएको छ ।
हाटबजार सञ्चालनलाई किसानले सकारात्मक रूपमा लिएका छन् । गन्यापधुराका प्रसाददत्त अवस्थीले हाटबजारले स्थानीय उत्पादन प्रदर्शन र बिक्रीका लागि राम्रो अवसर सिर्जना गर्ने बताए । ‘किसानका लागि राम्रो अवसर हो,’ उनले भने, ‘ हाटबजारका माध्यमबाट ताजा तरकारी उपभोक्तासम्म पुर्याउन सकिने छ ।’
यहाँ उत्पादित तरकारी तथा अन्य कृषि उपज व्यापारीमार्फत सस्तो मूल्यमा बिक्री गर्न बाध्य छन् । भातकाँडाका तिलकराज भट्टले बजार अभावले किसान मर्कामा परेको उल्लेख गरे । ‘तरकारी बेच्न किसानले १० जना व्यापारीसँग सोध्नुपर्ने बाध्यता छ,’उनले भने, ‘श्रम अनुसार मूल्य पाउनै मुस्किल हुन्छ ।’ हाटबजार सुरू भएपछि उचित मूल्य पाइन्छ कि भन्ने आशा लागेको उनले बताए ।
अहिले यहाँका बासिन्दाले उत्पादन गरेका तरकारी बिचौलियाले खेतबाटै खरिद गरी उपभोक्तालाई महँगोमा बेच्ने गरेको वडाध्यक्ष क्षेत्री बताए । बाटबजारमा किसानले आफ्ना उत्पादन ल्याएर बिक्री गर्न पाउने व्यवस्था गरिने उनले बताए । यसले बिचौलियाको भूमिका घटाउँदै उपभोक्तालाई सस्तो मूल्यमा ताजा वस्तु उपलब्ध गराउने अपेक्षा गरिएको उनको भनाई छ ।
हाटबजार सञ्चालनका लागि जिल्लास्थित कृषि ज्ञान केन्द्रलगायत सरोकारवाला निकायसँग समन्वय भइरहेको उनले बताए । कृषि ज्ञान केन्द्रको समन्वयमा जिल्लाका विभिन्न कृषक समूहलाई सहभागी गराउने प्रयास भइरहेको उनको भनाइ छ । जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा तीन सदस्यीय अनुगमन टोली गठन गरी नियमित अनुगमन गर्ने तयारी गरिएको छ ।
उद्योग वाणिज्य संघ नजिकै रहेको बसपार्कको पछाडिपट्टि हाटबजार सञ्चालन गरिनेछ । हाटबजारलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न स्थानीय किसान, उपभोक्ता, प्रदेश सरकार तथा दातृ निकायसँग समेत समन्वय गर्ने योजना रहेको वडाध्यक्ष क्षेत्रीले बताए ।
यसअघि २०६५ सालमा पनि हाटबजार सञ्चालनको प्रयास गरिएको थियो । तर, हाटबजार लाग्ने क्षेत्रमा सडकको अवस्था, सरसफाइ अभाव र कमजोर व्यवस्थापनका कारण निरन्तरता पाउन सकेन । अहिले सडक व्यवस्थित भइसकेको, बजार विस्तार भएको र सरसफाइमा सुधार गरिएको वडा अध्यक्ष क्षेत्री बताए ।
हाट बजारको दीर्घकालीन व्यवस्थापनका लागि निर्माण व्यवसायी संघको क्षेत्रमा (रानीधारा क्षेत्र) मा स्थायी संरचना निर्माण गर्ने विषयमा समेत छलफल भएको छ । निर्माण व्यवसायी संघ रहेको क्षेत्रमा टहरा निर्माण गरी स्थायी हाटबजार सञ्चालन गर्ने योजना रहे पनि उक्त क्षेत्रमा बर्खायाममा पहिरोको जोखिम देखिएकाले तत्कालका लागि बसपार्क पछाडि सञ्चालन गर्ने निर्णय गरिएको वडाध्यक्ष क्षेत्रीले बताए ।
