दिल्पेश्वर क्लबद्वारा योगीको सालिक निर्माण सुरु

योगगुरुका रूपमा योगाश्रम स्थापना गर्दै सनातन धर्मको संरक्षण र प्रवर्द्धनमा सक्रिय रहेका मठाधीश (पीर) चन्द्रनाथ योगी अत्यन्त अनुशासित जीवनशैलीका लागि परिचित थिए।

चैत्र ८, २०८२

मोहन पनेरु

Dilpeshwor Club begins construction of Yogi's statue

What you should know

डोटी — दिल्पेश्वर क्षेत्रको ऐतिहासिक तथा आध्यात्मिक पहिचानसँग जोडिएका मठाधीश (पीर) चन्द्रनाथ योगीको स्मृतिलाई स्थायी बनाउने उद्देश्यले दिल्पेश्वर स्पोर्ट्स क्लबको पहलमा सालिक निर्माण कार्य सुरु गरिएको छ। जनस्तरबाट श्रमदान र चन्दा संकलनमार्फत निर्माण कार्य अघि बढाइएको क्लबले जनाएको छ।

क्लबका अध्यक्ष रामभक्त सुनारका अनुसार, भगवान् रामका पूर्वज अयोध्यापति राजा दिलीपले तपस्या गरेको पवित्र स्थानमा पछि पीरका रूपमा आएका चन्द्रनाथ योगीले दिपायल क्षेत्रमा उल्लेखनीय काम गर्दै डोटीबासीको मन जितेका थिए। उनको योगदान अत्यन्त ठूलो भएकाले सहजै सम्झन सकियोस् भनेर सालिक निर्माण सुरु गरिएको हो।

मठाधीश चन्द्रनाथ योगीको जीवन त्याग, साधना र सेवाको अनुपम उदाहरणका रूपमा लिइन्छ। विसं १९९४ वैशाख १३ मा जन्मिएका उनका पिता शिवनाथ योगी र माता देवानाथ योगी हुन्। सानै उमेरमा आध्यात्मिक मार्गतर्फ अग्रसर भएका उनले करिब ८ वर्षको उमेरमै संन्यास ग्रहण गरेका थिए।

संस्कृतमा शास्त्रीसम्मको अध्ययनका लागि भारतको बनारस पुगेका उनले हरिद्वारमा गहिरो आध्यात्मिक ज्ञान आर्जन गरेका थिए। विसं २००२ मा दिल्पेश्वर मठमा प्रवेश गरेका उनले लामो समयसम्म मठाधीशका रूपमा रही मठको सम्पूर्ण जिम्मेवारी सम्हाले।

उनको नेतृत्वमा गुरुकुल शिक्षाको सुरुवात, धार्मिक पुस्तकालय स्थापना, दिल्पेश्वर माध्यमिक विद्यालयको स्थापना, आयुर्वेदिक औषधालय सञ्चालन गरी सर्वसाधारणलाई निःशुल्क उपचार सेवा प्रदान गर्ने जस्ता महत्त्वपूर्ण कार्य सम्पन्न भए। साथै कृषि, घरेलु उद्योग, फलफूल बगैंचा, पार्क निर्माण तथा मठको आधुनिकीकरणमा पनि उनले महत्त्वपूर्ण योगदान दिएका थिए।

योगगुरुका रूपमा योगाश्रम स्थापना गर्दै सनातन धर्मको संरक्षण र प्रवर्द्धनमा सक्रिय रहेका उनी अत्यन्त अनुशासित जीवनशैलीका लागि परिचित थिए। मठाधीशका रूपमा रहँदा उनले कहिल्यै लम्पसार परेर ओछ्यानमा नसुती केवल पद्मासनमै ध्यानमा बसेर विश्राम गर्ने अभ्यास अपनाएका थिए, जसलाई उनका अनुयायीहरू आध्यात्मिक साधनाको उच्चतम रूपका रूपमा लिन्छन्।

विसं २०७० भदौ २३ गते ब्रह्मलीन भएका योगीले करिब ६८ वर्षसम्म दिल्पेश्वर मठमा मठाधीश (पीर) महाराजका रूपमा रही आफ्नो जीवन समाजसेवामा समर्पित गरेका थिए।

क्लबका अनुसार सालिक निर्माणले केवल एक महान् व्यक्तित्वको सम्मान मात्र नभई डोटीको धार्मिक तथा सांस्कृतिक पहिचानलाई संरक्षण र प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

पछिल्लो समय ‘दिल्पेश्वर स्पोर्ट्स क्लब’ले खेलकुदसँगै सामाजिक, सांस्कृतिक तथा धार्मिक गतिविधिमा सक्रिय भूमिका खेल्दै आएको छ। युवाहरूलाई सकारात्मक दिशातर्फ उन्मुख गराउने, स्थानीय परम्परा जोगाउने र समुदायमा एकता कायम गर्ने उद्देश्यले क्लबले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

मोहन

Link copied successfully