वर्षासँगै यहाँका उच्च लेकाली भेगमा हिमपात भएको छ ।
What you should know
बाजुरा — लगातारको मौसम बदलीसँगै शुक्रबार बिहानबाट बाजुरामा वर्षा भइरहेको छ । वर्षासँगै यहाँका उच्च लेकाली भेगमा हिमपात भएको छ ।
हिमपात भएपछि यहाँका बडीमालिका, बुढीगंगा त्रिवेणी, बुढीनन्दा नगरपालिका, हिमाली, खप्तड छेडेदह, गौमुल, स्वामीकार्तिक, जगन्नाथ गाउँपालिकाका लेकाली क्षेत्र र गाउँहरूमा हिमपात भएको छ । हिमपातका कारण हिमालीको विच्छ्या, रूगिन, बाँधु, गौमुलको अम्लिस, दहकोट, बुढीनन्दाको कुरू,पाण्डुसैन, खप्तड छेडेदहलगायतका स्थानीय बढी प्रभावित बनेका छन् ।
हिमपात भएपछि डाँडाहरू सेताम्ये भएका छन् । वर्षापछि हिमपातले स्थानीय समेत प्रभावित बनेका छन् । बाक्लो हिमपात भएपछि यहाँका बडीमालिका, पोरखेलेक, कालाजग्रा, बुढीनन्दा, रानीसैनलगायतका अग्ला डाँडा सेताम्ये बनेका छन् ।
लेकाली भेगमा हिमपात र भारी वर्षा भइरहेको जिल्ला निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले जानकारी दिए । उनका अनुसार जिल्लामा भारी वर्षा भइरहेकाले उच्च सतर्कता अपनाउन सर्वसधारणलाई आग्रह गरिएको छ ।
मौसम विभागले वर्षासँगै हावाहुरीको सम्भावना भने पनि जिल्लामा हावाहुरी नभएको र कुनै क्षतिको विषयमा जानकारी नआएको निमित्त प्रमुख जिल्ला अधिकारी पुडासैनीले बताए। लगातार वर्षाभएपछि चैतमा लगाउने धान बालीका लागि राहत भएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।
गहुँ बाली पसाउने, ओखर, स्याउलगायतका फलफूल पलाउने बेलामा वर्षा हुनु कृषकका लागि उयपुक्त भएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसीराम सहानीले बताए । लगाएको गहुँ अन्नबालीको बाला लाग्ने बेला र फलफूलका बिरूवा फुल्ने बेलामा आएको वर्षाले राहत प्रर्याप्त भएको कृषि ज्ञान केन्द्र प्रमुख सहानीको भनाइ छ ।
शुक्रबार बिहानबाट निरन्तर वर्षा भएपछि जिल्लामा चिसो बढेको छ । चिसोका कारण बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी बढी प्रभावित बनेका छन् । चिसो बढेकाले न्यायो कपडा र घरबाहिर ननिस्कन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।
