मंगलबार साँझ दोधारा चाँदनी नगरपालिका- ४ सुर्खेती टोलका अन्दाजी ५० वर्षीय हरिप्रसाद श्रेष्ठले सौतेनी आमा र दिदीमाथि धारिलो हतियार प्रहार गरेका हुन् ।
कञ्चनपुर — कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा एक व्यक्तिले सौतेनी आमा र दिदीमाथि खुकुरी प्रहार गर्दा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
मंगलबार साँझ दोधारा चाँदनी नगरपालिका- ४ सुर्खेती टोलका अन्दाजी ५० वर्षीय हरिप्रसाद श्रेष्ठले सौतेनी आमा र दिदीमाथि धारिलो हतियार प्रहार गरेका हुन् । प्रहरीका अनुसार श्रेष्ठले अन्दाजी ७५ वर्षीया सौतेनी आमा बिन्द्रा श्रेष्ठमाथि बारम्बार खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
उक्त घटनामा अन्दाजी ५४ वर्षीया भगवतीदेवी माँझी गम्भीर घाइते भएकी छन् । घाइते माँझीलाई दोधारा चाँदनी नगर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाइएको छ । अस्पताल स्रोतका अनुसार उनको अवस्था गम्भीर छ । घटनापछि फरार रहेका श्रेष्ठको खोजी कार्य तीव्र बनाइएको कञ्चनपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरायसी विवादका कारण घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
