मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने वन अधिकृत पक्राउ

वरिष्ठ डिभिजनल वन अधिकृत भट्टले ५ लाख रुपैयाँ नदिएपछि मुख्यमन्त्रीले आफूखुशी सरुवा गरेको आरोप लगाएका थिए ।

चैत्र २, २०८२

रञ्जना बिसी

Forest officer arrested for accusing Chief Minister of demanding bribe

कैलाली — सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लगाएका वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कार्यरत भट्टलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले आज मन्त्रालयबाटै पक्राउ गरेको हो ।

मुख्यमन्त्रीका स्वकीय सचिव प्रयाज्ञ खनालले भट्टविरुद्ध विद्युतीय अपराधमा जाहेरी दिएका थिए । भट्टले आफ्नो सरुवा रोक्न मुख्यमन्त्रीले रकम मागेको दाबी गर्दै आएका थिए भने मुख्यमन्त्रीले त्यसलाई निराधार भन्दै आएका थिए । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाले भट्टविरुद्ध २९ फागुनमा विद्युतीय अपराधमा जाहेरी परेको बताए । उक्त जोहेरीको आधारमा आज दिउँसो १ बजे भट्ट कार्यरत उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाटै पक्राउ गरिएको उनले बताए । '२९ गते विद्युतीय अपराधमा परेको जाहेरीको आधारमा उहाँलाई पक्राउ गरेका हौं । अब अदालतबाट म्यद थप गरेर अनुसन्धान अघि बढ्छ,'  डीएसपी तिमिल्सिनाले भने । 

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको प्रमुख सचिवस्तरीय निर्णयबाट ३० साउनमा भट्टको पहलमानपुर सरुवा भएको थियो । ऐनविपरीत सरुवा गरिएको भन्दै भट्टले उच्च अदालत दीपायलमा रिट दायर गरेको थिए । अदालतले सरुवाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । केही समयपछि उच्च अदालतले सरुवाको निर्णय कार्यान्वयन नगर्न दिएको आदेश निश्क्रिय पारेकोमा वरिष्ठ डिभिजनल वन अधिकृत भट्टलाई प्रदेश वन निर्देशनालय तानिएको थियो । भट्टले ५ लाख रुपैयाँ नदिएपछि मुख्यमन्त्रीले आफूखुशी सरुवा गरेको आरोप लगाएका थिए ।

रञ्जना

Link copied successfully