१० पटक निर्वाचन प्रहरी बनेका ढुंगाना सम्मानित

२०४८ वैसाख २९ मा भएको निर्वाचनमा पहिलो पटक म्यादी प्रहरी बनेका मंगलसेन गरपालिका-५ का ढुंगाना त्यतिबेला १८ वर्षका थिए ।

चैत्र २, २०८२

मेनुका ढुंगाना

Dhungana, who has been an election policeman for 10 times, honored

What you should know

अछाम — २०४८ सालदेखि हालै सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा गरी १० पटक निर्वाचन प्रहरी बनेका टंकप्रसाद ढुंगानालाई अछाम प्रहरीले सम्मान गरेको छ । 

२०४८ वैसाख २९ मा भएको निर्वाचनमा पहिलो पटक म्यादी प्रहरी बनेका मंगलसेन गरपालिका-५ का ढुंगाना त्यतिबेला १८ वर्षका थिए । १८ वर्षकै उमेरदेखि सरकारले घोषणा गरेका निर्वाचनमा १० औं पटक छनोट भइ सेवामा खटिएकाले सम्मान गरेको अछामका प्रहरी प्रमुख डिएसपी ओमप्रकाश खनालले बताए ।

‘०४८ सालदेखिका सबै निर्वाचनमा उहाँ म्यादी हुँदै निर्वाचन प्रहरी हुनुभयो । यो दुर्लभ संयोग हो । इच्छाशक्ति र चाहना भए मात्रै यस्तो सम्भव हुन्छ,’ डिएसपी खनालले भने,‘उहाँअरुका लागि पनि प्रेरणा बन्नुभएको छ ।’

२०४८ वैसाख २९ मा भएको निर्वाचनमा पहिलो पटक म्यादी प्रहरी बनेका ढुंगाना, ०५१ सालको मध्यावधि निर्वाचन, ०५४ को स्थानीय निकाय निर्वाचन, ०६४ को पहिलो संविधानसभा निर्वाचनमा म्यादी प्रहरी बनेर सेवामा खटिए । त्यस्तै, ०७० सालमा दोस्रो संविधानसभा निर्वाचन भयो । उनी फेरि पाचौं पटक म्यादी प्रहरी बने ।

२०७४ सालमा संघीयतापछिको पहिलो स्थानीय तहको चुनाव र प्रदेश तथा प्रतिनिधिसभाको चुनावमा पनि म्यादी प्रहरी बने । सोही क्रम उनका लागि ०७९ मा भएका स्थानीय, प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा पनि दोहोरियो ।

गत फागुन २१ को निर्वाचनमा दशौं पटक उनी निर्वाचनको सुरक्षामा प्रहरी बनेर उभिए । ‘आफ्नै इच्छा, चाहना र रहरले म्यादी हुँदै निर्वाचन प्रहरी बने । यसैको मूल्यांकन प्रहरी संगठनले पनि गरेको देख्दा खुसी लागेको छ,’ ढुंगानाले भने,‘३४ वर्षको बीचमा भएका सबै निर्वाचनको साक्षी पनि बने । सहज, असहज सबै अवस्थामा भएका निर्वाचनमा प्रहरीको रुपमा खटिँदा धेरै अनुभव भएको छ,’ बहुदलीय व्यवस्था, तत्कालीन विद्रोही माओवादीको सशस्त्र विद्रोह, राजतन्त्रको अन्त्यदेखि संघीय संरचनामा गइसकेको नेपालका निर्वाचनको सुरक्षाको घेरामा बस्न पाउँदा खुसी लागेको उनी बताउँछन् ।

उनी आफूले खटिएका निर्वाचन मध्ये यसपाली अहिलेसम्मकै नागरिक सहभागिता कम भएको चुनावको रुपमा लिन्छन् । ‘मतदानकै दिन पनि मतदातामा उत्साह देखिएन् । राजनैतिक अस्थिरता, दलहरुप्रतिको विश्वास घट्नुले पनि होला मतदाता नै निराश देखिन्थे,’ उनले भने,‘मतदानको दिन भनेको त लोकतन्त्रको पर्व हो । त्यही दिन पनि मतदातामा उत्साह नदेखिनु भनेको लोकतन्त्रकै लागि दुर्भाग्य हो ।’

हालै सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा मतदान गर्न मतदाता नै कसलाई र कसरी मतदान गर्ने भनेर अन्योल भएको दृश्य देखेको उनले बताए । ‘मतदानस्थलमा मतपत्र हातमा पाइसकेपछि कसरी मतदान गर्ने हो भनेर सुरक्षाकर्मी र कर्मचारीलाई सोधेको देखे । योभन्दा अगाडिका मतदानमा यस्तो दृश्य देखेको थिइनँ,’ उनले भने ।

मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully