वैज्ञानिक र व्यावहारिक शिक्षामा जोड दिनु आवश्यक : राज्यमन्त्री खड्का

विद्यालयका प्रधानाध्यापक महेश महराले विद्यालयले विद्यार्थीलाई अनुशासन मात्र नभई दैनिक जीवनमा काम लाग्ने व्यावहारिक तथा वैज्ञानिक ज्ञान पनि सिकाइरहेको बताए ।

फाल्गुन ३०, २०८२

तर्कराज भट्ट

Need to emphasize scientific and practical education: Minister of State Khadka

What you should know

डडेल्धुरा — सुदूरपश्चिम प्रदेश सरकारकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले वैज्ञानिक र व्यावहारिक शिक्षामा जोड दिनु आजको आवश्यकता भएको बताएकी छन् । 

खड्काले बालबालिका सक्रिय बनेर वैज्ञानिक सोचसहित अघि बढे विद्यार्थीहरू भविष्यमा धेरै अगाडि बढ्न सक्ने बताएकी हुन् । माउन्टेन इङ्लिस मिडियम बोर्डिङ स्कुल बागबजार, डडेल्धुराले शनिबार आयोजना गरेको ‘कला–कौशल तथा विज्ञान प्रदर्शनी, फुड फेस्टिवल र सांस्कृतिक कार्यक्रम’मा बोल्दै उनले हाम्रा बालबालिका सक्रिय भएपछि भविष्य राम्रो बन्ने आधार तयार हुने बताइन् । सोच र साधन मिल्यो भने वैज्ञानिक ढङ्गबाट अगाडि बढ्न सक्ने क्षमता यहाँका विद्यार्थीमा रहेको उनको भनाइ थियो । 

उनले बालबालिकालाई घरायसी तथा दैनिक भान्सासम्म प्रयोग हुने र व्यवहारिक काम लाग्ने कुराहरू सिकाइँदै आएको देख्दा आफूलाई निकै राम्रो लागेको बताइन् । यस्ता गतिविधिलाई आगामी दिनमा अझ प्रवर्द्धन गर्न केही गर्नुपर्ने महसुस भएको पनि उनले उल्लेख गरिन् । प्रदेश सरकारका तर्फबाट आवश्यक समन्वय र सहयोग रहने उनको भनाइ थियो । 

विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विभिन्न विज्ञानसम्बन्धी परियोजना र प्रयोगात्मक सामग्री प्रदर्शन गरेका थिए । कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले तयार पारेका विभिन्न परिकारसहित फुड फेस्टिवल पनि आयोजना गरिएको थियो । फुड फेस्टिवलमा विद्यार्थीले स्थानीय तथा आधुनिक परिकार तयार पारेका थिए । 

विद्यालयले आयोजना गरेको विज्ञान प्रदर्शनी तथा फुड फेस्टिवल प्रभावकारी भएको अभिभावक गोविन्द खडायतले बताए । यस्ता कार्यक्रमले विद्यार्थीको प्रतिभा उजागर गर्न तथा व्यावहारिक ज्ञान बढाउन मद्दत पुग्ने उनको भनाइ थियो । विज्ञान प्रदर्शनीमा सहभागी विद्यार्थी यथार्थ पन्तले विद्यालयमा यस्ता कार्यक्रम आयोजना हुँदा आफ्नो ज्ञान र सीपमा अभिवृद्धि हुने बताउँदै पढाइसँगै व्यावहारिक अनुभव प्राप्त हुने बताए । 

विद्यालयका प्रधानाध्यापक महेश महराले विद्यालयले विद्यार्थीलाई अनुशासन मात्र नभई दैनिक जीवनमा काम लाग्ने व्यावहारिक तथा वैज्ञानिक ज्ञान पनि सिकाइरहेको बताए । यस्ता कार्यक्रममार्फत विद्यार्थीको सिर्जनशीलता र व्यावहारिक सीप विकासमा टेवा पुग्ने उनको भनाइ थियो ।

तर्कराज

Link copied successfully