दुर्घटनाको छानबिन र क्षतिपुर्तीको माग गर्दै मृतकका आफन्तबाट राजमार्ग अवरुद्ध

मृतकका आफन्तहरुले बिहानैदेखि सडकमा जम्मा भएर यातायात पूर्णरुपमा बन्द गराएका छन् ।

फाल्गुन २९, २०८२

भवानी भट्ट

Relatives of the deceased block highway, demanding investigation into accident and compensation

कञ्चनपुर — बेदकोट नगरपालिका–७ लालपुर चौराह नजिकै बिहीबार दुर्घटनामा परेर ज्यान गुमाएका आफन्तले पूर्वपश्चिम राजमार्ग बन्द गराएका छन् । उनीहरुले उचित क्षतिपुर्ती र दोषीमाथि कारवाहीको माग राख्दै शुक्रबार अत्तरिया-महेनद्रनगर खण्ड बिहानैदेखि सडक बन्द गराएका हुन् । 

मृतकका आफन्तहरुले बिहानैदेखि सडकमा जम्मा भएर यातायात पूर्णरुपमा बन्द गराएका छन् । घटना शंकास्पद भएको भन्दै उनीहरुले सत्यतथ्य छानबिनको समेत माग गरेका छन् । उनीहरुले आफन्तलाई जानकारी नदिएरै घटनास्थलबाट शवहरु उठाएकोमा आपत्ति जनाएका छन् । 

जिल्ला प्रहरी कञ्चनपुरका एसपी खडकबहादुर खत्रीका अनुसार आफन्ते उचित क्षतिपुर्ती पाउनुपर्ने माग गरिरहेका छन् । ‘आफन्तले क्षतिपुर्तीको माग राखेका छन्, हामी छलफल गरिरहेका छौं,’ एसपी खत्रीले भने । 

बिहीबार दिउँसो पूर्वपश्चिम राजमार्ग अन्तरगत कञ्चनपुरका बेदकोट नगरपालिका–७ लालपुरमा से१च १४०५ नम्बरको बोलेरो जिप र म२प ३५०६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

प्रहरीका अनुसार मोटरसाइकल चालक भीमदत्त नगरपालिका–१ बारकुण्डाका ४० वर्षीय राम लुहार र पछाडि बसेका सोही ठाउँका ४० वर्षीय दानसिंह धामीको घटनास्थलमै मृत्यु भएको थियो । 

दुवै जनाको शव महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । आफन्तले माग पूरा नभएसम्म शव नबुझ्ने अडान लिएका छन् ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully