आइतबार राति सार्वजनिक अन्तिम मत परिणामअनुसार बोगटीले ९ हजार ५१८ मत प्राप्त गरेका छन् भने कांग्रेसका शाहले ९ हजार ०४६ मत पाएका छन् ।
काठमाडौँ — अछाम-२ बाट नेकपा एमालेका उम्मेदवार यज्ञबहादुर बोगटी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार पुष्प शाहलाई ४७२ मतान्तरले पराजित गर्दै बोगटी विजयी भएका हुन् ।
आइतबार राति सार्वजनिक अन्तिम मत परिणामअनुसार बोगटीले ९ हजार ५१८ मत प्राप्त गरेका छन् भने कांग्रेसका शाहले ९ हजार ०४६ मत पाएका छन् ।
यसैगरी रास्वपाका भूपदेव शाहले ४ हजार ५५२ मत प्राप्त गरेका छन् भने नेकपाका बलबहादुर कुँवरले ६ हजार ४९३ मत पाएका छन् । अन्य उम्मेदवारमध्ये गुलाब चिह्नले ५५८, हलोले १६७, मादलले ६०, चिमले ५२ र आँखा चिह्नले ११३ मत प्राप्त गरेका छन् ।
अछाम–२ मा जम्मा ३२ हजार ४०८ मत खसेको थियो ।
अछाम–२ मा बोगटी र शाहबीचको प्रतिस्पर्धा पछिल्ला निर्वाचनहरूमा लगातार दोहोरिँदै आएको छ । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा बोगटीले शाहलाई पराजित गर्दै संसद् यात्रा सुरु गरेका थिए । त्यसपछि २०७९ सालको निर्वाचनमा भने शाहले बोगटीलाई पराजित गरेका थिए ।
यसपटकको निर्वाचनमा फेरि यी दुई नेताबीच कडा प्रतिस्पर्धा देखिएको थियो । मतगणनाको अन्तिम चरणसम्म मतान्तर धेरै फराकिलो नभए पनि अन्ततः बोगटीले अग्रता जोगाउँदै शाहलाई पराजित गरेका हुन् ।
यससँगै अछाम–२ मा बोगटीले दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा जित निकाल्दै पुनरागमन गरेका छन् ।
