जिल्लाभर एक अस्थायीसहित ८९ मतदानस्थलका १४७ मतदान केन्द्रमा बिहान ७ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो ।
जाजरकोट — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जाजरकोटका सबै स्थानमा निर्धारित समयमै शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । जिल्लाभर एक अस्थायीसहित ८९ मतदानस्थलका १४७ मतदान केन्द्रमा बिहान ७ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो । मतदानका क्रममा कुनै पनि ठूलो अवाञ्छित घटना नभएको र सुरक्षा व्यवस्था प्रभावकारी रहेको जिल्ला प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार, मतदान सम्पन्न भएसँगै सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गर्ने काम सुरु गरिएको छ । संकलन गरिएका मतपेटिका सुरक्षित रूपमा तोकिएको मतगणनास्थलमा ल्याउने क्रम जारी छ ।
निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित बनाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा निर्वाचन प्रहरी परिचालन गरिएको थियो । जाजरकोटमा १ लाख ७ हजार ९१ मतदाता रहेकोमा समानुपातिकसहित ६१ हजार ६ सय ६७ मत खसेको मुख्य मुख्य निर्वाचन कार्यालयले जानकरी दिएको छ । जसमा पुरूष २९ हजार ९ सय ८१ महिला ३१ हजार ६ सय ८४ र अन्य २ गरि उक्त मत खसेको हो । कुल मतदाताको ५७.५८% मत खसेको कार्यालयले जनाएको छ ।
