बाजुरामा ५१ प्रतिशत मत खस्यो, मतपेटिका संकलन हुँदै 

मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराका अनुसार एक सय १८ मतदान केन्द्रमा भएको मतदानमा ४४ हजार ७७३ मत खसेको जनाएको छ ।

फाल्गुन २१, २०८२

कान्तिपुर संवाददाता

51 percent voter turnout in Bajura, ballot boxes being collected

बाजुरा — बिहीबार सम्पन्न भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बाजुरामा कुल मतदाता संख्याको ५१ प्रतिशत मत खसेको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराका अनुसार एक सय १८ मतदान केन्द्रमा भएको मतदानमा ४४ हजार ७७३ मत खसेको जनाएको छ । खसेको मतको ५१ प्रतिशत पुगेको मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले जानकारी दिएका छन् । 

हिमाली जिल्लाका रुपमा रहेको यहाँको निर्वाचन विगतका निर्वाचनभन्दा फरक भएको पाइएको छ । यो निर्वाचनमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत पोखरेलले बताए । मतदान कार्य सकिएपछि मतपेटिका संकलन भइरहेको छ ।

दुर्गम तथा विकट मतदान केन्द्र रहेको हिमाली गाउँपालिका–३ मा रहेको हिमालभक्ति आधारभूत विद्यालय गुम्बाको मतपेटिका नेपाली सेनाको हेलिकप्टरमार्फत आज नै जिल्ला सदरमुकाम मार्तडीमा पुर्‍याएइएको छ । 

अन्य तीन मतदान केन्द्र बौडी, बाम र विच्छ्याको मत पेटिका विच्छ्या प्रहरी चौकीमा संकलन गरिने र शुक्रबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत ल्याइने मुख्य निर्वाचन अधिकारी पोखरेलको भनाइ रहेको छ । 

जिल्ला सदरमुकाम मार्तडी आसपासका मतपेटिका मतगणनास्थल रहेको जिल्ला समन्वय समिति बाजुरामा पुगेको र अन्य क्षेत्रको मतपेटिका सुरक्षाकर्मीले ल्याउने गरी तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए । 

सडक क्षेत्र पुगेका मतदान केन्द्रहरुमा सवारी साधनमा आज राति नै नेपाली सेनासहितको सुरक्षामा मतपेटिका ल्याउने गरी तयारी थालिएको प्रमुख जिल्ला अधिकारी निरौलाको भनाइ छ । यहाँका ८७ हजार ८६१ मतदाता रहेका छन् । तीमध्ये ४५ हजार ४२८ पुरुष, ४२ हजार ४३१ महिला र २ अन्य मतदाता रहेका छन् । 

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बाजुरामा सात राजनीतिक दलसहित एक जना स्वतन्त्र गरी आठ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्  ।

कान्तिपुर

Link copied successfully