हिजोदेखि धनगढी बजार सुनसान बनेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधि सुरु र मतदान गर्न सर्वसाधारण गाउँतिर गएपछि धनगढी सुनसान बनेको हो ।
कैलाली — सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी प्रदेशकै ब्यस्त बजार हो । चाडबाड र अन्य विशेष अवसरमा धनगढीका चोकमा भिडभाड देखिन्थ्यो । चिया नास्ता पसलका व्यापारी व्यस्त देखिन्थे । तर, हिजोदेखि धनगढी बजार सुनसान छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधि सुरु र मतदान गर्न सर्वसाधारण गाउँतिर गएपछि धनगढी सुनसान बनेको हो । बजारका कुनै ठाउँमा पनि मानिसको जमघट देखिँदैन । पहाडी जिल्लाका मतदाता गाउँ फर्किएका छन् भने कैलालीकै अन्य ठाउँका मतदाताले पनि धनगढी छोडेका छन् ।
कैलालीको कैलारी गाउँपालिकाकी धना चौधरी मतदान गर्न घर फर्किएकी छिन् । क्षेत्र नम्बर ३ की मतदाता उनले धनगढी बस्ने धेरै साथी घर फर्किएको बताइन् ।
यस्तै, कैलाली-२ की मतदाता रेखा चौधरी पनि मतदानका लागि धनगढीबाट घर फर्किंदै छिन् । उनले आफ्नो निर्वाचन क्षेत्रमा यसपटक युवा उम्मेदवार उठेकाले भोट हाल्न उत्साहित भएको बताइन् ।
‘म मात्र होइन सबै मतदाताहरू भोलि भोट हाल्न उत्साहित छन्, विशेष निर्वाचन हो, कस्तो नतिजा आउँछ नतिजा हेर्न झन् उत्साहित छौं,’ उनले भनिन् ।
कैलालीभित्रका मात्र होइनन् जिल्लाबाट बाहिरिनेको संख्या पनि ठूलो छ । बझाङका विष्णु बोहरा हिजो मात्रै मतदान गर्न गृह जिल्ला फर्किए । अध्यनका लागि धनगढी बस्ने उनी सँगै ७ जना घर फर्किएका हुन् ।
ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख चक्रबहादुर देउवाले जिल्लाबाट कति बाहिरिए भन्ने एकिन तथ्यांक नभएको बताए । तर, जिल्लाबाट पहाडी जिल्लाहरूमा जानेको संख्या धेरै रहेको उनको भनाइ छ ।
‘पछिल्लो ३-४ दिनमा कैलालीबाट बाहिरिएको प्रत्येक बस प्याक देखिन्थे । जिल्लाबाट बाहिरिनेको संख्या बढी छ,’ उनले भने ।
