मध्यपूर्वमा रहेका नेपालीको सुरक्षाप्रति संवेदनशील हुन सरकारलाई पूर्वपरराष्ट्रमन्त्री साउदको आग्रह

मध्यपूर्वमा रहेका नेपाली श्रमिक र अन्य नेपाली नागरिकलाई त्यहाँको सुरक्षा परिस्थितिबारे सुसूचित रहन र उच्च सतर्कता अपनाई स्थानीय सुरक्षा निकायले जारी गरेका निर्देशन तथा सुरक्षा प्रोटोकलहरूको पूर्ण पालना गर्न पूर्वपरराष्ट्रमन्त्री साउदले आग्रह गरेका छन् ।

फाल्गुन १७, २०८२

कान्तिपुर संवाददाता

Former Foreign Minister Saud urges government to be sensitive to the safety of Nepalis in the Middle East

What you should know

काठमाडौँ — इरानमाथि इजरायल र अमेरिकाको आक्रमणपछि मध्यपूर्वमा देखिएको सुरक्षा खतराप्रति संवेदनशील हुँदै नेपाली नागरिकको अवस्थारबारे उच्च शतर्कता अपनाउन पूर्वपपराष्ट्रमन्त्री एनपी साउदले सरकारसँग आग्रह गरेका छन् ।

अमेरिका र इजरायलले इरानमाथि शनिबारदेखि हवाइ आक्रमण गरिरहेको छ । इरानले अमेरिकालाई सहयोग गर्ने खाडी राष्ट्रहरूमाथि हवाइ आक्रमण गरिरहेको छ । जसले गर्दा त्यहाँ काम गर्ने नेपाली श्रमिक प्रभावित भएका छन् ।

साउदले ती क्षेत्रमा रहेका नेपालीप्रति सरकार समयमै सजग हुनुपर्ने सुझाव दिएका छने । मध्यपूर्वमा विकसित तनावपूर्ण परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै उनले त्यहाँ रहेका नेपाली श्रमिकको सुरक्षा सुनिश्चितता नेपाल सरकारको प्राथमिकतामा पर्नुपर्ने धारणा राखेका छन् । आइतबार पूर्वपरराष्ट्रमन्त्री साउदले सामाजिक संजालमार्फत त्यहाँ कार्यरत नेपालीहरूलाई पनि सम्बन्धित देशको सुरक्षा प्रोटोकल अपनाउन आग्रह गरेका छन् ।

'यस स्थितिमा मध्यपूर्वमा कार्यरत लाखौं नेपाली श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूको सुरक्षा हाम्रो प्रमुख प्राथमिकता हो । उक्त परिस्थितिबारे सुसूचित रहनुहुन तथा उच्च सतर्कता अपनाई स्थानीय सुरक्षा निकायले जारी गरेका निर्देशन तथा सुरक्षा प्रोटोकलहरूको पूर्ण पालना गर्नहुन सम्पूर्ण नेपाली समुदायमा हार्दिक अनुरोध गर्दछु,' साउदले भनेका छन्, 'साथै, नेपाल सरकार, परराष्ट्र मन्त्रालय तथा सम्बन्धित देशस्थित नेपाली राजदूतावासहरूलाई त्यहाँ रहेका नेपाली नागरिकहरूको अवस्थाबारे उच्च सतर्कता अपनाउन, आवश्यक कूटनीतिक पहल गर्न तथा नेपाली नागरिकको सुरक्षाप्रति संवेदनशीलता अपनाउँदै प्रभावकारी ढंगले व्यवस्था मिलाउनहुन म आग्रह गर्दछु ।'

इरानी आक्रमणमा यूएईमा एक नेपालीसहित ३ जनाको मृत्यु भएको छ । यूएईको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाल, बंगलादेश र पाकिस्तानका १-१ जना नागरिकको मृत्यु भएको जनाएको छ । त्यस्तै आक्रमणमा ५८ जना घाइते भएका छन् । घाइते हुने यूएई, इजिप्ट, फिलिपिन्स, भारत, पाकिस्तान, इरानलगायतका नागरिक रहेको यूएईको रक्षा मन्त्रालयले जनाएको छ ।

२०८० असोजमा प्यालेस्टाइनले इजरायलमाथि आक्रमण गर्दा त्यहाँ रहेका नेपालीलाई सरकारले हवाइ उद्धार गरेको थियो । नेपाली विद्यार्थीलाई ल्याउन तत्कालीन परराष्ट्रमन्त्री साउद आफै इजरायल पुगेका थिए । त्यतिबेला नेपाल वायुसेवा निगमको वाइडबडी विमानले इजरायलमा रहेका २ सय ५४ नेपाली विद्यार्थीको हवाई उद्धार गरेको थियो । 

कान्तिपुर संवाददाता

Link copied successfully