फागुन ९ मा रेडक्रस भवन डडेल्धुरा, फागुन ११ मा जोगबुडा अस्पताल र फागुन १२ मा आलिताल स्वास्थ्य चौकीमा शिविर सम्पन्न गरिएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।
What you should know
डडेल्धुरा — डडेल्धुरामा निःशुल्क परिवार नियोजनसम्बन्धी शिविर सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालय डडेलधुराको आयोजना, सुनौलो परिवार नेपालको सहकार्य तथा जिल्लाभित्रका विभिन्न स्थानीय तहको समन्वयमा शिविर सञ्चालन गरिएको हो ।
फागुन ९ मा रेडक्रस भवन डडेल्धुरा, फागुन ११ मा जोगबुडा अस्पताल र फागुन १२ मा आलिताल स्वास्थ्य चौकीमा शिविर सम्पन्न गरिएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । शिविरमार्फत भ्यासेक्टोमी र मिनिल्यापजस्ता स्थायी परिवार नियोजन सेवा पूर्णरूपमा निःशुल्क उपलब्ध गराइएको थियो ।
स्वास्थ्य कार्यालय डडेल्धुराका परिवार नियोजन सुपरभाइजर भवान सिंह कुँवरका अनुसार तीनवटै स्थानमा सञ्चालन गरिएको शिविरबाट २७ जनाले स्थायी परिवार नियोजन सेवा लिएका छन् । जोगबुडा अस्पतालमा सम्पन्न शिविरबाट १२ जनाले सेवा लिएका थिए, जसमा ३ जनाले भ्यासेक्टोमी र ९ जनाले मिनिल्याप सेवा लिएका हुन् ।
जिल्ला सदरमुकाममा रहेको रेडक्रस भवन डडेल्धुरामा आयोजित शिविरबाट ६ जनाले सेवा लिएका छन् । तीमध्ये १ जनाले भ्यासेक्टोमी र ५ जनाले मिनिल्याप सेवा लिएका थिए । आलिताल स्वास्थ्य चौकीमा सम्पन्न शिविरबाट ९ जनाले सेवा लिएका छन्, जसमा २ जनाले भ्यासेक्टोमी र ७ जनाले मिनिल्याप सेवा लिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कुँवरका अनुसार दुर्गम क्षेत्रका नागरिक अझै पनि स्थायी परिवार नियोजन सेवाबाट वञ्चित हुने अवस्थालाई ध्यानमा राख्दै शिविरमार्फत सेवा प्रवाह गरिएको हो । ‘स्थायी परिवार नियोजन सेवा सुरक्षित, प्रभावकारी र दीर्घकालीन समाधान हो,’ उनले भने, ‘शिविरका कारण खर्च, दूरी र जानकारीको अभावका कारण सेवा लिन नसकेकाहरूलाई प्रत्यक्ष लाभ पुगेको छ ।’
स्वास्थ्य कार्यालयका अनुसार अनियोजित गर्भधारण न्यूनीकरण, मातृ तथा शिशु स्वास्थ्य सुधार र परिवारको आर्थिक–सामाजिक अवस्था सुदृढ बनाउन परिवार नियोजन सेवाको महत्त्वपूर्ण भूमिका रहन्छ । त्यसैले सरकारी निकाय र गैरसरकारी संस्थाबीचको सहकार्यमा यस्ता शिविरलाई प्राथमिकताका साथ सञ्चालन गरिएको जनाइएको छ ।
जिल्लामा परिवार नियोजनसम्बन्धी चेतना अझै पर्याप्त नभएको भन्दै स्वास्थ्य कार्यालयले आगामी दिनमा पनि शिविर, जनचेतनामूलक कार्यक्रम तथा नियमित स्वास्थ्य संस्थामार्फत सेवा विस्तार गर्ने जनाएको छ ।
